कांग्रेसको दोधार : परीक्षामा लोकतान्त्रिक अभ्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

navaraj neupane
नवराज न्यौपाने, भक्तपुर

राजनीतिक दलहरू लोकतन्त्रका मुख्य आधार हुन्। तर पछिल्ला घटनाक्रमहरूले देखाइदिएको छ — दलभित्रकै खिचातानी, पेलाइ–धकेलाइ र गुटगत स्वार्थका कारण संस्थागत राजनीतिमा कमजोरी बढ्दै गएको छ।
‘बहुमतको नाममा व्यथिती’ चलाउने प्रवृत्ति, बिधान र नीति पालना गर्नेहरूलाई पाखा लगाउने, या लाभदायक पदद्वारा मौन बनाउने संस्कृति — यी सबैले दलको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाइरहेका छन्।

सुधारको आवाज र नेतृत्वको डर

दलभित्रका केही नेताहरू अझै पनि भन्छन्, “अब सचिनु पर्छ, सुधारको बाटो लिनै पर्छ।”
तर अर्कोतर्फ, केही नेताहरू आफ्नै वर्चस्व र राजनीतिक बिरासत गुम्ने डरले परिवर्तनप्रति असहज देखिन्छन्।
तर इतिहासले सधैं पुष्टि गरेको कुरा छ — लोभ र पापको अन्त हुन्छ, तर विधि र प्रक्रियाको सम्मान दीर्घकालीन स्थायित्वको आधार हो।
विशेष परिस्थिति बाहेक, नियम र प्रक्रियाको निरन्तरता नै लोकतन्त्रको आत्मा हो, यही नै आम जनता र सचेत कार्यकर्ताको बुझाइ पनि हो।

कांग्रेसभित्रको सत्ता सन्तुलन र नयाँ मोड

हाल नेपाली कांग्रेसभित्र देखिएको अस्थिरता त्यसकै प्रत्यक्ष उदाहरण हो।
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पुर्णबहादुर खड्कालाई हस्तान्तरण गरेपछि बसेका केन्द्रीय बैठकहरूमा संस्थागत पक्षलाई प्राथमिकता दिँदै बहुमतको निर्णय अनुसार अधिवेशन चुनावपछि गर्ने तयारी अघि बढाइएको छ।
तर अर्कोतर्फ, अर्को समूह विशेष वा नियमित अधिवेशन मङ्सिरमै गर्नुपर्ने माग गर्दै सक्रिय छ।

यसले पार्टीभित्रको आन्तरिक संवाद, विश्वास र नेतृत्व क्षमतामाथि नयाँ प्रश्न उठाएको छ।
कांग्रेसको इतिहासमा यस्तो दोधार पटक–पटक देखा परे पनि यसपटक परिस्थिति फरक छ —
अब जनता र कार्यकर्ताले केवल प्रतीक्षा होइन, उत्तर र कार्यान्वयन चाहिरहेका छन्।

महाधिवेशनको तयारी : समावेशी दृष्टिकोण आवश्यक

१५औं महाधिवेशन अब अनिवार्य भइसकेको छ।
तर त्यो सिमित साथीहरूबीचको औपचारिकता भएर होइन, सबै तह र तप्कालाई समेट्ने समावेशी अभ्यास हुनुपर्छ।
यसका लागि पुराना क्रियाशील सदस्यताको नवीकरण र नयाँ सदस्य वितरण अत्यावश्यक छ।
किनभने आज पनि धेरै दलप्रति निष्ठावान कार्यकर्ता क्रियाशील सदस्यताको अधिकारबाट वञ्चित छन्।

यदि यही अवस्थाबाट महाधिवेशन गरियो भने, त्यो “गाउँ फर्के राष्ट्रिय अभियान” जस्तै नाटकीय औपचारिकता मात्र हुनेछ —
जहाँ भाग लिने सदस्यहरू सिमित, निर्वाचित पदाधिकारीहरू पनि सिमित, र परिणाम पनि पूर्वनिर्धारित जस्तो हुनेछ।

यति मात्र होइन, धेरै पुराना साथीहरू भित्रभित्रै पलायन भइसकेका छन्।
आवश्यक परे उनीहरू मतदानमा भाग लिए पनि कसैलाई बिजयी गराउन मात्र सहभागी हुने, तर दलको आत्मसुधारमा उत्साहित नहुने अवस्था देखिन्छ।
यो संकेत हो — संगठन भित्रको असन्तुलन गहिरिँदै गएको छ र त्यसको उपचार खुला, पारदर्शी र सहभागितामूलक महाधिवेशन बाटै सम्भव छ।

मध्यमार्गी आवाज : विश्वप्रकाश शर्माको प्रस्ताव

यिनै विवाद र ध्रुवीकरणबीच कांग्रेसका नेता विश्वप्रकाश शर्माले प्रस्तुत गरेको मध्यमार्गी प्रस्ताव चर्चामा छ।
उनले भनेका छन् — “महाधिवेशनबारे निर्णय गर्न महासमितिको राय भोटिङबाट लिनुपर्छ।”
यो प्रस्तावले नेतृत्वको निर्णय भन्दा संस्थागत मत लाई प्राथमिकता दिने अभ्यासको ढोका खोलिदिएको छ।
दलभित्र मतका आधारमा निर्णय गर्ने संस्कृतिलाई पुनःस्थापित गर्न सकियो भने,
त्यो केवल कांग्रेसका लागि होइन, समग्र लोकतान्त्रिक संस्कृतिका लागि पनि सशक्त सन्देश हुनेछ।

लोकतन्त्रको आत्मा — चरित्र सुधार

दलभित्रको अनिर्णय र असन्तोषबीच पनि देशभर फैलिएको सुधार–आन्दोलनले स्पष्ट सन्देश दिएको छ —
अब हेपाह प्रवृत्ति, गुटबन्दी र व्यक्तिपरक निर्णयको अन्त्य हुनैपर्छ।
समयले माग गरेको कुरा हो — युवाको सहभागिता, जनतामुखी नीति, शिक्षा, स्वास्थ्य, रोजगारी र सुसासनमा वास्तविक प्रत्याभूति दिने नेतृत्व।

अन्ततः, अबको आवश्यकता दल परिवर्तन होइन, दलभित्रको चरित्र परिवर्तन हो।
जब राजनीतिक दलहरू आन्तरिक लोकतन्त्र, पारदर्शिता र जिम्मेवारीप्रति इमानदार बन्छन्,
त्यसैले मात्र लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास पुनःस्थापित गर्न सक्छ।
त्यसका लागि नेतृत्वले “सत्ता” होइन, “प्रक्रिया”लाई प्राथमिकता दिन सक्नुपर्छ —
त्यही हो लोकतन्त्रको साँचो शक्ति।