जेन्जि आन्दोलन र नयाँ पुस्ताको यथार्थ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

navaraj neupane
नवराज न्यौपाने, भक्तपुर         

 

अहिले जेन्जि आन्दोलनबीचमा सफलता, सत्ता–लुछाचुडी, लोभ र पापका प्रसङ्गहरू यत्रतत्र सर्वत्र देखिँदैछन्। तर त्यहीँबीच केही नयाँ सोच, नयाँ परिकल्पना र सुधारका प्रयासहरू पनि जन्मिरहेका छन्।
हामी जस्ता पुस्ताले सोचेका थियौं — सुसासन र भ्रष्टाचारको अन्त्य होस्, यही आन्दोलनको सार होस्।
तर आज पनि संविधान उही, व्यवस्था उही, र दोषारोपणको खेल उही चलिरहेको छ।
केवल पुराना नेताहरूको आलोचना गर्ने पालो मात्र आएको छ, जुन अब अस्वीकार्य छ।

अब आवश्यकता छ — जसलाई दोष दिइन्थ्यो, तिनै सबैलाई फाल्ने होइन, बरु सबै दलबाट क्रमशः स्वच्छ छवि भएका व्यक्तिहरूलाई समावेश गरेर, आन्दोलनरत टिमसहित, सबैभन्दा पछिल्लो साझा टिमको सरकार गठन गर्न।
त्यो सरकारले कानुनी राज्यको प्रत्याभूति दिलाउन सकेमा मात्र यो सङ्कटासनको अन्त्य हुनेछ।
दलहरूका लागि पनि सुधारबिना विकल्प छैन।
किनकि जेन्जि पुस्ता सबै दलभित्र नै छन् — त्यसैले उनीहरूको माग सम्बोधन गरेर राजनीतिक सञ्चालनको नयाँ अवसर खोज्नुपर्छ।

समयको माग अनुसार सोचौं

अरूलाई दोष दिनु अघि, ती ‘खराब’ भनिएका मानिसहरूबाट पनि केही राम्रो सिक्न सकिन्छ कि भनेर एकपल्ट हेरौं।
सायद त्यही दृष्टिकोणबाट मुलुकले केही नयाँ दिशा पाउन सक्छ।
जेन्जि पुस्ताको वास्तविक चुनौती : रौनक, रोजगारी र जिम्मेवारी

जेन्जि पुस्ताको रौनक आज फरक छ — उनीहरू पढ्न, कमाउन र आर्थिक रूपमा सबल बन्न चाहन्छन्।
यही चाहना प्राकृतिक पनि हो, किनकि राजनीति मात्रले घर चल्दैन।
जो राजनीति गर्छन्, उनीहरूसँग वा त अकुत सम्पत्ति हुन्छ, वा अघिल्लो पुस्ताबाट सबथोक तयार हुन्छ।
तर अधिकांश जेन्जि युवाका लागि त्यस्तो अवस्था छैन।

त्यसैले उनीहरूका लागि जीवनको पहिलो प्राथमिकता हुनुपर्छ आत्मनिर्भरता, सीप र रोजगारी।
नत्र, आज जसका विरुद्ध आन्दोलन भइरहेको छ, भोलि फेरि उही प्रवृत्तिको पुनरावृत्ति हुनेछ।

नेपालमा अवसरलाई मात्र हेर्ने चलन छ — कसरी मन्त्री बनाउने, कसरी पदमा पुग्ने, कसरी लाभ लिने।
तर जनप्रतिनिधिको त्यो पदको मर्यादा र इज्जत कहाँ गयो?
गुमिसक्यो।
त्यसैले अब जेन्जि पुस्ताले पद होइन, उद्देश्य खोज्ने समय हो — देश चलाउने होइन, दिशा देखाउने पुस्ता बन्ने समय हो।
 आन्दोलन, अराजकता र मनोबल
भदौ २३ र २४ गतेको जेन्जि आन्दोलनले देशभर नयाँ चेतना र परिवर्तनको तरंग ल्यायो।
युवाहरूको उत्साह, ऊर्जाशक्ति र परिवर्तनको आकाङ्क्षाले सरकार परिवर्तन नै गरायो — यो सन्देश हो कि नयाँ पुस्ता अब मौन बस्दैन।

उर्जालाई अराजकतामा होइन, निर्माणमा प्रयोग गर्ने; असन्तोषलाई तोडफोडमा होइन, परिवर्तनको योजनामा परिणत गर्ने।
त्यसरी मात्रै यो आन्दोलन दीर्घकालीन अर्थमा “युग परिवर्तन” बन्न सक्छ

तर दुर्भाग्यवश, त्यही आन्दोलनका केही घडीहरूमा अराजकता, तोडफोड र आगजनीका घटना पनि देखिए।
उत्तेजनामा गरिएको यस्तो गतिविधिले आन्दोलनको मर्ममाथि नै प्रश्न उठाएको छ।
अब प्रश्न उठ्छ — जसको बलले सरकार परिवर्तन भयो, ती युवाहरूको आजको मनोबल कस्तो छ?

यदि अन्तरिम सरकारले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी रूपमा जिम्मेवार बनाउने कार्य नगरे,
त्यसले उल्टो प्रभाव पार्नेछ — अराजक प्रवृत्ति बढ्नेछ, र ‘उत्तेजनामा जे पनि गर्न पाइन्छ’ भन्ने गलत सन्देश जानेछ।

राजनीति वा आन्दोलन कुनै पनि बेला देश र नागरिकको हितका लागि हुनुपर्छ, विधिको शासनभित्रै।
कानुनभन्दा माथि कोही हुँदैन, र कानुनको शासनमा मनपरी चल्नु हुँदैन।
भिडमा उत्तेजित हुने वा गराउने दुवै पक्षको जीवन त्यसपछि तनावग्रस्त बन्छ —
र आन्दोलनको असली उद्देश्य, सुधार र सुसासन, पछाडि पर्छ।

त्यसैले अब जेन्जि पुस्ताले आत्मविश्लेषण गर्नुपर्ने बेला आएको छ — उर्जालाई अराजकतामा होइन, निर्माणमा प्रयोग गर्ने; असन्तोषलाई तोडफोडमा होइन, परिवर्तनको योजनामा परिणत गर्ने।
त्यसरी मात्रै यो आन्दोलन दीर्घकालीन अर्थमा “युग परिवर्तन” बन्न सक्छ