कीर्तिपुर(काठमाडौं),
त्रिभुवन विश्वविद्याल क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय स्तरको बनाउने कार्यले अन्तिम रूप पाउँदै गर्दा त्यस वरपर क्रिकेटसम्बद्ध व्यवसायहरु पनि बढन थालेका छन् ।

राष्ट्रियस्तरका खेल खेलिसकेका खेलाडीले रंगशाला वरपरको क्षेत्रमा क्रिकेट एकेडेमी तथा क्रिकेट खेलका सामग्री केन्द्रित स्टोर खुलेका हुन् ।
यसैक्रममा शनिबार बल्खु चोकमा विद्यालयस्तर देखि राष्ट्रिय स्तरसम्मका व्यावसायिक क्रिकेटरलाई लक्षित गरी जियान्ट स्टोर सञ्चालनमा आएको छ । क्रिकेट एसोसिएसन नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष खड्ग शाहीले उद्घाटन गर्नुभएको उक्त स्टोरमा साना उमेर समूह देखि राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि आवश्यक पोशाक, ब्याट, बल, पंजा आदि सम्पूर्ण सामग्री राखिएका छन्
स्टोरका सञ्चालक तथा क्रिकेट प्रशिक्षक टेक सतामी मगरले क्रिकेट खेलको बढदो आकर्षणलाई ध्यानमा राखी स्टोर सञ्चालनमा ल्याएको बताउनुभयो । “आकर्षण सँगै क्रिकेट सम्बद्ध सामग्रीको माग पनि दैनिक बढी रहेको छ। त्यस्तोमा तिरे अनुसारको मूल्य पाउने गरी खेलाडीलाई सामान उपलब्ध गराउनु पर्छ भन्ने लाग्यो” ,उहाँले भन्नुभयो । स्टोरलाई भारतस्थित क्रिकेट जन्य सामग्रीको प्रशिद्ध कम्पनी हेगाको आधिकारिक डिलरशिपसमेत प्राप्त गरेको छ । यसबाहेक गुणस्तरीय क्रिकेट सामग्री मानिने एसजी, एसएस, एमआरएफ ब्राण्डका व्याट, बल, प्याड र हेलमेट लगायतका सामग्री समेत राखिएको जानकारी मगरले दिनुभयो । स्टोरले क्रिकेटमा आफ्नो भविष्य बनाउन खोज्ने खेलाडीलाई लक्षित गरी आफैंले बल उत्पादन समेत गरी रहेको जानकारी उद्घाटन कार्यक्रमका दिइयो ।
क्रिकेटलाई लक्षित गरी यसअघि बल्खुमा एक द स्कोर बोर्ड क्रिकेट स्टोर खुलिसकेको छ । कीर्तिपुर क्षेत्रमा पनि दुईवटा स्टोरहरु क्रिकेट खेलाडीलाई नै लक्षित गरी खोलिएका छन् । यसै गरी करिब आधा दशक अघि नै जगत टमाटा लगायतका राष्ट्रिय क्रिकेट खेलाडहरुले “हिमालयन क्रिकेट एकेडेमी” सञ्चालनमा ल्याएका छन्। एकेडेमीमा वरपरका विद्यालयका विद्यार्थी र क्रिकेटमै आफ्नो भविष्य बनाउन खोजिरहेका गरी करिब ३ सय विद्यार्थीले क्रिकेटको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्राप्त गरिरहेका छन् । यसबाहेक गिफट पसल र स्टेसनरी पसलहरुमा समेत क्रिकेटका सामग्रीको माग बढेको कीर्तिपुर ४ का स्टेसनरी सञ्चालक बाबुकृष्ण बस्नेत बताउनुहुन्छ । साइबर सेवा चलाएर बसेका मुरारी विष्टले पनि क्रिकेटका सामग्री बढी ल्याउन थालिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया