मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभूवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापननै गए गुज्रिएको देखेपछि सांसदहरुले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
त्रिविको इश्वरी कन्या छात्राबास अन्तर्गत ङ ब्लकको भान्सा तथा पानी लगायतको प्रबन्ध बारे अनुगमन गर्न बिहीबार अपरान्ह कीर्तिपुर पुगेको प्रतितिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्य लगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरु कान्तिका सेजुवाल, महेन्द्र बहादुर शाही,रेखा यादव सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मंगलप्रसाद गुप्ता र खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी त्रिवि छात्राबास पुग्नु भएको थियो।
विश्वविद्यालयको छात्राबासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो घटना हो । संसदीय टोली छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै छात्राबासका विद्यार्थीले अत्यन्त फोहर भाँडा कुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाईको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहर भएको देखाएका थिए । यसबारेमा बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गर्ने गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेन लगायतबाट उल्टै रुखो व्यवहार र हप्कीदप्की हुने गरेको बताएका थिए । “ पढन आएका हामीहरु समयमा मुख धुने पानी समेत नपाए तनावमा पर्नु पर्यो यो सँगै भान्साको समेत समस्या बताउँदा वार्डेन म्यामलले “सरकारी होटलमा बसेपछि यस्तै हो, जे मिल्छ त्यसैले चलाउनु ”, भन्ने सम्मको रुखो जवाफ दिनुभयो” एमएस्सी तेस्रो सेमेष्टरकी छात्रा सविना रेग्मीले सांसद टोली समक्ष भन्नुभयो । छात्राहरु रहने ठाउँमा पानी र सरसफाइ अनिवार्य हुनुपर्ने कुरा प्रति त्रिविका पदाधिकारीहरु असंवेदनशील रहेको पनि उहाँले बताउनुुभयो । “पानी अत्यन्त कम र त्यस माथि पनि प्रयोगै गर्न नमिल्ने गरी धमीलो पठाइयो । महिनावारी भएको बेलामा समेत एक जग पानीले सरसफाई गर्नुपर्ने सम्मको कष्ट हामीले भोग्नुपर्यो, अर्की छात्रा रोहना जोशीको भनाई थियो । तत्काल समाधान गर्न सकिने र आपत परेको कुरा लिएर जाँदा पनि सरकारी काम हो समय लाग्छ, भन्ने जवाफ दिइने गरेको पनि उहाँले बताउनुभयो । सासाना समस्या पनि समाधान नगरीँदिँदा छात्राबासमा विजुली वा अरु पुर्वाधार विग्रेको अवस्थामा छात्राहरुले आफै पैसा उठाएर मर्मत गर्नुपर्ने सम्मको अवस्था सृजना गरिएको पनि उहाँले बताउनुभयो ।
छात्राबासको निरीक्षण र छात्राहरुको गुनासो सुनेपछि संसदीइ टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्या बारे सोधपुछ गरेको थियो । सांसदहरुले आफूहरुले छात्राबासमा अवलोकन गर्दा सुरसफाई र स्वास्थ्य सुरक्षाको न्यूनतम् मापदण्ड समेत नपुर्याइएको पाएको बताएका थिए । “त्रिविको केन्द्रीय क्याम्पस जस्तो प्रतिष्ठीत संस्थामा यस्तो दुरावस्था देखिनु दुर्भाग्य पूर्ण हो, विद्यार्थीलाई स्वच्छ पानी र आधारभूत सरसफाईबाट बन्चित गराएर मानवअधिकार उलंघन गरिएको छ”, समितिका सभापति खानले भन्नुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर सुवेदले छात्राबासको भोजनालयमा खाद्यान्नको स्वच्छतालाई सर्वाधिक प्राथमिकता दिइनुपर्ने बताउनुभयो । आफूले त्यहाँ प्रयोग भएको पानीको नमुना संकलन गरेको बताउँदै उहाँले विभागमा त्यस पानीको स्वच्छताबारे जाँच गरिने समेत बताउनुभयो । छात्राबासका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उहाँले विद्यार्थीबाट फेरि पनि सोही खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी समेत दिनुभयो ।
त्रिवि स्ववियुका सभापति दीपकराज जोशीले त्रिवि पदाधिकारीहरुमा विद्यार्थी नरम स्वरले उठाएका कुरा वेवास्ता गर्ने र सोही कुरा दबावमुलक ढंगले राखेपछि मात्र पुरा गर्ने प्रवृत्ति रहेकोले समस्या जटिल हुन गएको बताउनुभयो ।”शौचालय व्यवस्थापन गर्नका लागि राखिएको माग सुन्दै सुनिएन अनि त्रिवि प्रिन्सिपल कार्यालयको शैचालय बन्द गरेपछि बल्ल माग पुरा भयो“, उहाँले बताउनुभयो ।
…………………
प्रतिक्रिया