कीर्तिपुर(काठमाडौं)
त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धन प्राप्त गरी तीन सय भन्दा बढी क्याम्पसहरुमा आगामी चैत ५ गते तय भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि आज उम्मेदवारी दर्ता भएको छ ।
विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशु्पति अधिकारीका अनुसार केही प्रमुख क्याम्पसमा आन्तरिक कारणले रोकिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको नाममा दुई समूहको उम्मेदवारी दर्ता पुगेपछि केही बेर तनाव पूर्ण स्थिति बनेको थियो । नेवि संघको त्रिभुवन विश्वविद्यालय इकाईबाट अनोज कार्कीको नेतृत्वमा प्यानल दर्ता गरिएको थियो भने केन्द्रीय निर्णय भन्दै दीपकराज जोशीको नेतृत्वमा प्यानल दर्ता गर्न पुगेका थिए । त्यसपछि कार्यालयले दुवै समूहको नामावली लिई आधिकारिकता बारे जवाफ माग गरेको थियो ।
यसै गरी नेकपा एमाले निकट अनेरास्ववियुले सिद्धान्त भट्टको अध्यक्षतामा ११ सदस्यको उम्मेदवारी दर्ता गराएको छ । विश्वविद्यालयमा नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल क्रान्तिकारी(बहूमत), नेपाली विद्यार्थी मञ्च, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, प्राज्ञिक विद्यार्थी परिषद् र स्वतन्त्र विद्यार्थी संगठनको तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । यसबाहेक स्वतन्त्र समेत गरी १६ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी केन्द्रीय क्याम्पसका प्रोक्टर राजेन्द्रप्रसाद कोइरालले दिनुभयो ।
राजधानीको सरस्वती, पब्लिक युथ विश्वभाषा क्याम्पसमा मतदाता नामावलीमाथि भएको विवादका कारण उम्मेदवारी दर्ता प्रक्रिया अघि बढन सकेको छैन । नेपाल ल क्याम्पसमा भने विद्यार्थी संग समझदारी हुन नसक्दा प्रारम्भिक प्रक्रिया नै अघि बढन सकेको छैन् । त्यस्तै अर्को प्रमुख क्याम्पस शंकरदेवमा तालाबन्दीका कारण अनलाइनबाट उम्मेदवारी दर्ता भएको जानकारी निर्देशक अधिकारीले दिनुभयो । यसै गरी पद्यकन्या क्याम्पसमा पनि एउटै विद्यार्थी संगठनबाट दुई थरी उम्मेदवार हुँदा प्रक्रिया अघि बढन सकेको छैन् ।
राजधानीबाहेक कोशी, गण्डकी र सुदुर पश्चिम प्रदेशका सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको तथा लुम्बिनी प्रदेशमा भने भैरहवा र बुटवल क्याम्पसमा अवरुद्ध भएको छ । यसै गरी सुर्खेत बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ता हुन सकेन । मधेश प्रदेशमा राराबहुमुखी क्याम्पस जनकपुर र सिराहा बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको जानकारी पनि निर्देशक अधिकारीले दिनुभयो ।
यसै गरी उपत्यकाबाही सिराहा, भैरहवा र बुटवल बाहेक अन्य क्याम्पसहरुमा उम्मेदवारी दर्ता भइरहेको जानकारी पनि निर्देशक अधिकारीले दिनुभयो ।
प्रतिक्रिया