“ओली नेता मात्र होइन राजनेता”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेता मात्र नभएर राजनेता भएको बताउनुभएको छ ।

‘केपी शर्मा ओली: सपना, संघर्ष र सङ्कल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भण्डारी ओली स्वप्नद्रष्टा नेता भएको बताउनुभयो । आफू राष्ट्रपति भएको बेला ओली प्रधानमन्त्री हुँदा निक्कै समन्वयात्मक भूमिका खेल्नु भएको भण्डारीले स्मरण गर्नुभयो । ओलीमा देश र समाजको विकास प्रतिको तीब्र हुटहुटी भएको भण्डारीले बताउनुभयो । ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको लगि खेल्नुभएको भूमिका, महाभूकम्पले भत्कारएका संरचना बनाउन देखाउनुभएको सक्रियता र त्यसमा प्राप्त भएको सफलता, कोरोना महामारी नियन्त्रण तथा प्रभावितहरुको उपचारमा देखिएको प्रभाकारिता एवं आर्थिक समृद्धि हाँसिल गर्न उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु’, भण्डारीले भन्नुभयो ।

भण्डारीले ओली आर्थिक, सामाजिक अभियानको कुशल अभियन्ता भएको बताउनुभयो । ओलीमा तुलनीय सक्रियता, अदम्य इच्छाशक्ति र सृजनशील क्षमताका भएको भण्डारीको टिप्पणी छ ।  ओली एक कुशल योजनाकार, संगठक र रणनीतिकार भएको उहाँको भनाइ छ ।

पूर्वराजदूत नीलाम्बर आचार्यले केपी ओली जस्तोसुकै अप्ठेरोमा पनि लड्न सक्ने आत्मबल भएको व्यक्ति भएको बताउनुभएको छ ।

आचार्यले केपी ओलीबाट धेरै बल प्रेरणा र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । “आत्मबल छ, जीवमा जतिसुकै अप्ठेरो आए पनि हार नखाने आँट छ, उद्देश्य छ, लक्ष छ, देशका निमित्त खटिरहने आचरण छ, निरन्तर अध्ययन गरिराख्ने बानी छ, ज्ञान लिइराख्ने बानी छ, यो तपाईँ हामीले सिक्नु पर्ने कुरा हो, राजनीतिमा त यो अति आवश्यक हुन्छ’, उहाँले भन्नुभयो ।

आचार्यले केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको स्वप्नद्रष्टा भएको उहाँले बताउनुभयो । ‘केपी ओली समृद्ध नेपाल, सुखी नेपालीको अवधारणाकार हो, सपनाकार हो, योजनाकार हो, हामी समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ भने समृद्ध नेपाल निर्माण गर्ने शक्ति चाहिन्छ, पुरै देशलाई जोड्नु पर्छ, एकीकृत गर्नु पर्छ, विभाजित नेपालले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सकिँदैन’, उहाँले भन्नुभयो ।

मुलुकका प्रमुख दुई शक्ति सधैँ भिडिराख्ने हो भने समृद्ध नेपाल निर्माण हुन नसक्ने उहाँले बताउनुभयो । ‘कम्तीमा एक/दुई पटक दुईवटा ठुला शक्ति कांग्रेस र एमाले मिलेर जानु पर्छ, होइन भने त्यो पुरा हुन सक्दैन, दुवैको सहकार्यले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा हुन्छ’, उहाँले भन्नुभयो ।

चुनावको बेलामा प्रतिस्पर्धा हुने भए पनि अरू बेला झगडा गरेर देश नबन्ने उहाँले बताउनुभयो । नेपालको समृद्धिका लागि झगडा होइन संवाद जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । दुई शक्ति मिलेर नेपालको खस्कँदो राष्ट्रिय प्रतिष्ठालाई समेत माथि उठाउन योगदान गर्नुपर्नेमा आचार्यले जोड दिनुभयो ।