लिखित परीक्षा र ट्रायलका बाहेक सबै अनलाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं :गुर्जूधारा वा यातायात व्यवस्था सम्बन्धी जुनसुकै कार्यालय । सबै तिर घन्टौंको लाइन प्रक्रियाबारे प्रायः सबै सेवा ग्राही अन्योलमा । एउटा सामान्य काम दिनभरमा पनि नहुने परिस्थति । “ यति दिनुहोस् काम बन्छ” भन्न आइरहने नखोजिएका सहयोगीहरु ।
सवारी साधन सम्बन्धी काम गर्न गएको कुनै पनि व्यक्तिले बर्होनुपर्ने यस्ता दुःख सम्भवतः अब अन्त्य हुँदैछन् ।
बागमती प्रदेशभित्रको सवारी साधनहरुको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को शुभारम्भसँगै यसको सम्भावना देखिएको छ । सोमबार यातायात व्यवस्था कार्यालय गुर्जुधारामा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट एक सय जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको खटाइएको यातायात मन्त्री महर्जनले जानकारी दिनुभयो । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारी साधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारी साधनको कर तिर्न सकिने र ब्लु बुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महर्जनले प्रविधि जोड्न सकेमा सुशासन कायम गर्न सहज हुने विश्वासका साथ यातायात मन्त्रालयले जनताका सेवासँग जोडिएको विषयलाई प्रविधिमा जोड्न लागिरहेको जानकारी दिनुभयो । आजको डिजिटाइजेशनले यातायात क्षेत्र प्रति सेवाग्राहीको नकारात्मक धारणा धेरै हदसम्म चिर्न सफल हुने विश्वास लिएका छौं ”, उहाँको भनाई थियो । साथै उहाले लक्ष्य प्राप्ति हुने गरी भिआरएसमार्फत डिजिटाइजेशन गर्न थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरि कार्य गरिएको जानकारी दिनुभयो ।

यसका साथै मन्त्री महर्जनले देशमा केही हुनै नसक्ने नकारात्मक भावनालाई रोजगारी र प्रविधिमार्फत हटाउन सकिने भाव व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेशभित्रको यातायात क्षेत्रमा लाइसेन्स नागरिक एपमार्फत डिजिटलाइज्ड भइसकेको तथा लाइसेन्स बोक्नु नपर्ने भइसकेको भनाइ राख्नुभयो । मन्त्री महर्जनले अबको केही समयमा लिखित परीक्षा र सवारी साधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सदस्य केशवप्रसाद पोखरेलले सवारी साधनको क्षेत्रमा डिजिटाइजेशनले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । उहाँले लामो समदेखी पेचिलो बनिरहेको डिजिटाइजेशन छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात् यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशमा अधिकार आएसँगै यातायात क्षेत्रमा लाइसेन्स र ब्लु बुक डिजिटाइज हुने र परिचयपत्र जनताले पाउने वातावरण बनेको धारणा राख्नुभयो ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रदेव भारतीले डाटा इन्ट्रिकर्ताले जतिसक्दो छिटो तथ्यांक प्रविष्टि गर्न सकेमा त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिनुभयो । उहाँले मन्त्रालयले तर्फबाट यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्ने गरी कार्य गरिरहेको भनाई व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रमा गरिएका विभिन्न प्रयासको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो अवसरमा मन्त्रालयले सवारी साधनको फाइल फिर्ता गर्नका लागि दिएको सूचना अनुसार सवारी धनी प्रशान्त चौधरीले कार्यक्रम स्थलमै यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गर्नुभएको थियो ।
मन्त्रालयले बढिमा आगामी दुइ बर्षभित्र डिजिटाइजेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ ।