काठमाडौं । काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । शुक्रवार हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको बृहत् परीक्षामा काठमाडौं उपत्यकाका तीन जील्लाका सय भन्दा धेरै विद्यालयका विद्यार्थीहरू सहभागि भएका छन् ।
संघले विद्यार्थीहरुलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउन, धर्म, संस्कार र परम्परा तथा हिन्दू धर्म संस्कृस्तिका विशिष्ट जीवन–मूल्य, नैतिक मान्यता बारे बोध गराउन आयोजना गरेको संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका अच्युत नेपाल प्रथम हुनु भएको छ ।
यसैगरी, शहीद स्मारकका लोकराज जैसी द्वितीय र दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमला तृतीय हुनु भएको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले जनही नगद रु ५१ हजार, ३१ हजार र २१ हजारसहित प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।
परीक्षामा सहभागीहरूमध्ये ६६ जना विद्यार्थीले सबै ५० वटै प्रश्न मिलाउन सफल हुनु भएको थियो । ६३ जनालाई जनही एक हजारका दरले सान्त्वना पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यालयका साना भाइबहिनीहरूलाई संस्कारसहितको नैतिक शिक्षा सिकाउँदै विद्यालय तहदेखि नै संस्कृत शिक्षा, हाम्रो वैदिक हिन्दुत्वको शिक्षा र नैतिक शिक्षा सिकाउनु पर्ने अति आवश्यक रहेको बताउनु भयो ।
साथै, उहाँले विश्वमा हिन्दूत्वको पुनर्जागरणका लागि स्वामी विवेकानन्दले दिनु भएको ज्ञान विश्वको लागि अनुकरणीय र प्रेरणादायी रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले घर बलियो बनाउन जसरी बलियो जग हुनुपर्छ त्यसैगरी राष्ट्र बलियो बनाउनका लागि भाषा, धर्म, संस्कृति र सभ्यता महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले राष्ट्र बलियो बनाउन सुसंस्कृत समाज, आदर्श नागरिक, असल नैतिकवान, चरित्रवान व्यक्ति निर्माण आवश्यक रहेकोले संघले आयोजना गरेको संस्कृति ज्ञान परीक्षा युगान्तकारी कदम रहेको बताउनु भयो ।
कार्यक्रममा संघका राष्ट्रिय संघ चालक कल्याण कुमार तिम्सिनाले यस देशको माटो, संस्कृति, धर्म, भूगोल, इतिहास र परम्पराको बारेमा विद्यार्थीलाई गौरवबोध गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले आज विद्यालयमा यी सबै विषयमा पढाउन छाडिएको सन्दर्भमा संघले हरेक विद्यालयमा पढ्ने विद्यार्थीका लागि यस परीक्षाबाट हाम्रा धर्म, संस्कृति र सभ्यतामा ज्ञान हस्तान्तरण र पुस्तान्तरण गरिरहेको बताउनु भयो ।
कार्यक्रम त्रिभूवन विश्वविद्यालयका उप–प्राध्यापक फुलप्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो । कार्यक्रम व्यवस्थापनमा दुई सय जना भन्दा धेरै स्वयंसेवक परिचालन गरिएको थियो । साथै एक सय चालिस जनाभन्दा धेरै परीक्षकहरूले डेढ घण्टामा उत्तर पुस्तिका परीक्षण गरि नतिजा सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सह–संघचालक विष्णु प्रसाद पौडेल, सामाजिक अभियन्ता उज्ज्वल विक्रम थापा, संघका राष्ट्रिय प्रचारक वेद प्रकाशजी, संघका राष्ट्रिय पदाधिकारी, स्वयंसेवक, विभिन्न संघसंगठनका प्रमुखहरू र सय वटा विद्यालयका शिक्षक, शिक्षिका, पत्रकार लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया