विद्यालय शिक्षाका थप चार मापदण्ड आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सानोठिमीः सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न चार वटा प्रमुख मापदण्डहरु ल्याउने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक चुडामणी पौडेल विद्यालय शिक्षा व्यवस्थित गर्न थप चार वटा मापदण्ड ल्याउन लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रले विद्यालयका लागि पुर्वाधार मापदण्ड बनाएर शिक्षा मन्त्रालयमा पठाएको छ । मन्त्रालयबाट स्वीकृति प्राप्त हुने वित्तिकै यो मापदण्ड लागू हुने छ । यसै गरी केन्द्रले विद्यालय सञ्चालन मापदण्ड, शैक्षिक सामग्री मापदण्ड र पुस्तकालय सम्बन्धी मापदण्ड पनि बनाएर स्वीकृतिका लागि पठाएको छ ।

पौडेलका अनुसार विद्यालयहरुको सञ्चालन ढाँचामा एकरुपता ल्याउन यी मापदण्डहरु लागू गर्न खोजिएको हो । संविधानले विद्यालय शिक्षा स्थानीय तहको जिम्मा लगाएसँग स्थानीय सरकारहरुले आआफ्नै तरिकाले विद्यालय सञ्चालन गर्न थालेकोमा देशभर एकरुपता कायम गर्न आवश्यक देखिएको भनाई उहाँको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशमा २६ हजार पाँच सय ५४ सार्वजनिक र छ हजार सात सय ६० निजी र एक हजार एक सय ५४ धार्मिक विद्यालय गरी कुल ३ हजार ३ सय ६८ विद्यालयहरु रहेका छन् । कक्षा १ देखि १२ सम्मका गरी कुल ७० लाख ९२ हजार ९ सय ५९ विद्यार्थी अध्ययनरत छन् ।