शिक्षक पाल्ने विद्यालय;५० विद्यार्थी पढाउन झन्डै २५ लाख खर्च 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेष्ठ १७, पर्सा।
विद्यार्थी पढाउन र शिक्षाको प्रकाश फैलाउन विद्यालयको स्थापना हुने गर्दछ तर शिक्षक पाल्न मात्रै पनि विद्यालय संचालन गरिएको कुरा सुनेर अच्चम लाग्न सक्छ होला वा पत्याउन गाह्रो हुन्छ होला । तर एउटा यस्तो विद्यालय पनि संचालनमा छ जसको वातावरण देखेर शिक्षक पाल्ने बाहेक केही लाभ देखिदैन ।
पर्साको वीरगंज महानगरपालिका वडा नं. १९ स्थित संचालनमा रहेको श्री विन्दवासिनी प्रा.वि. बर्वागोगको अवस्था भने माथी उल्लेखित वाक्यांश मै आधारित छ ।
यो विद्यालयमा ५ जना शिक्षक र एक जना परिचर गरि ६ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जसका तलब भत्तामा बर्सेनि साढे १६ लाख भन्दा बढी सरकारी रकमको खर्च हुँदै आएको छ ।
बालबिकास देखि कक्षा ५ सम्म अध्ययन गराउदै आएको यस विद्यालयमा स्थायी शिक्षक २ जना,राहत कोटाबाट २ जना,बाल बिकासमा १ जना गरि जम्मा ५ जना शिक्षकहरु आबद्ध रहनु भएको छ ।
अच्चमको कुरा त के छ भने यस विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्या हाजिरीमा १६४ जना मात्रै छन् । बालबिकासमा २५ जना,कक्षा एकमा २६ जना ,कक्षमा २ मा २५ जना, कक्षा ३ मा ३६ जना, कक्षा ४ मा ४२ जना र कक्षा ५ मा ३५ जना गरि कुल विद्यार्थी संख्या १६४ जना मात्रै छन् । स्वं विद्यालयका प्रधानाध्यापक गम्भिरा साहले हाजिरीमा जति देखिए पनि निरन्तर आउने विद्यार्थी संख्या ८० पुग्ने बताउनु भएको छ तर लगातार ४ दिन अवलोकन गरे पश्चात् निरन्तर पढ्न आउने विद्यार्थी संख्या ४० देखि ५० जना सम्म मात्रै देखिन्छन् ।
यी ५० जना विद्यार्थी पढाउन बर्सेनि करिब २५ लाख सरकारी रकम खर्च हुने गरेको छ ।
वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख एवं सूचना अधिकारी अरविन्द लाल कर्णले उपलब्ध गराउनु भएको सुचनाका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ अनुसार मात्रै यो विद्यालयमा वीरगंज महानगरपालिकाको तर्फबाट २४ लाख ४२ हजार २ सय ४७ सरकारी रकम खर्च भएको उल्लेख छ ।
सोही गाउँमा अवस्थित अर्को सामुदायिक विद्यालयमा हुनेगरेको बर्सेनि साढे २७ लाखको लागतले अझै आश्चर्यमा पार्ने गरेको छ । एउटै गाउँमा समान स्तरका २/२ वटा सामुदायिक विद्यालय संचालन हुने गर्नु तर यहाँ स्थितका विद्यार्थीहरुमा परिवर्तन महसुस गर्न नसकेको प्रती स्थानीयहरु चिन्तित बनेका छन् ।
विद्यालयमा आउने विद्यार्थी देखि शिक्षक सम्म कसैले पनि पोशाक लगाउने गर्दैनन् । सोधे पछि अनेकौ बहाना बनाउने गरेका छन् । बालबिकासको शिक्षक र परिचरको लागि १०/१० हजारको दरले पोशाक भत्ता आउने गरेको तर कसैलाई पोशाकमा देख्न सकिदैन ।
तीनवटा भवनमा ६ वटा कोठा उपलब्ध रहेको उक्त विद्यालयमा न त कम्प्युटर देख्न सकिन्छ न त प्राथमिक उपचारका सामग्री नै । जब कि महानगरले ईन्टरनेट व्यवस्थापन गर्न उक्त विद्यालयलाई वार्षिक १२ हजार, सि.यु.जि. सेवामा आबद्ध अनुदान ३३ हजार बढी र प्राथमिक उपचार सामग्री व्यवस्थापन गर्न १६ हजार उपलब्ध गराउदै आएको छ ।
विद्यालय संचालन मसलन्द अनुदान,विद्यालय सुधार व्यवस्थापन आधारभुत तह,नि:शुल्क पाठ्य पुस्तक खरिद अनुदान,बुक कर्नर अनुदान,छात्रवृत्ति ,लेखापरिक्षण आदि शीर्षकमा आउने रकमको लेखाजोखा गर्ने कुनै ठोस निकाय नभएको उक्त विद्यालयमा प्रधानाध्यापक गम्भिरा साहको एकलौटी नीति चलेको स्थानीयहरुले बताउने गरेका छन् ।
स्थानीय सरकार आएको ५ वर्ष हुन्नै लाग्दा पनि अझै पनि यो विद्यालयमा व्यवस्थापन समिती र अभिभावक समिती केही पनि नरहेको स्थानीयले बताएका छन् ।