युद्धरत युक्रेनकी युवती ; किन सगरमाथा चढदै ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेनी महिला एन्टोनिया सामोइलोभा जीवनकै सर्वाधिक ठूलो सपनाको रुपमा रहेको सगरमाथा आरोहणको संघारमा हुनुहुन्छ । उहाँको देश अहिले शक्तिशाली रुससँगको युद्धमा छ । आफूले हिमाल आरोहणको तयारीका लागि देश छोडेको दुई साता पछि युद्ध सुरु भएको थियो । जन्मथलो शक्तिशाली छिमेकीसँगको युद्धमा र आफू सर्वोच्च शिखर आरोहणको तयारीमा । एउटा अनौठो नियतीका बीच एन्टोनिया काठमाडौंमा हुनुहुन्छ ।
जन्मथलो युक्रेनमा दुई हजार मिटरभन्दा अग्ला छैनन् तर साथीहरुको लहलहैमा अफ्रिकाको किलिमन्जारो चढेपछि स्कुले जीवनमा सुनेको विश्वकै सर्वोच्च शिखर चढने सपना पेशाले इन्टेरियर डिजाइनर रहेकी सामोइलोभा ।
पेशाले आर्किटेक्ट इन्जिनियर रहेकी एन्टोनिया आरोहरण आफूले कमाउन नभई शोख पुरा गर्नका लगि गरेको बताउनुहुन्छ । आरोहण तयारीको व्यस्तताबीच एन्टोनिया र घामछायाँ डटकमसँग हिमाल आरोहणका आयामहरुबारे यसरी बताउनुभयो ।

आफ्नो बारेमा बताउनुहोस् न ।

म एन्टोनिया सामोइलोभा । अहिले ३३ वर्ष पुगेँ, युक्रेनको किभ निवासी हुँ ।
युक्रेन भन्नासाथ हाम्रो दिमागमा रुससँग चलिरहेको युद्ध आउँछ । यस्तो समयमा कसरी तपाइँको हिमाल आरोहण तय हुनसक्यो ?
युद्ध सुरुहुँदा म युक्रेनमा थिइन । हिमाल आरोहणकै लागि युद्धको १० दिन अघि युक्रेन छोडी सकेको थिएँ । म त्यति बेला मेक्सिकोको सर्वोच्च हिमशिखर ओरिजावा आरोहणमा थिएँ । त्यसपछि म तान्जानिया पुगेँ । त्यसपछि नेपाल आइपुगेँकी हुँ । यहाँ मेरो भेट फोर्टीन पिक्स एक्पिडिसन कम्पनीका टासीसँग भेट भयो ।ukren climer वास्तवमा मलाई टासीले नै म यसै वर्ष सगरमाथा चढन सक्छु भन्ने उत्साह दिनुभएको हो । अर्थात मेरो सगरमाथा आरोहण वास्तवमा एकदमै अचानक गरिएको निर्णय थियो । त्यो निर्णय पछि थाहाँ पाएँ कि म यो वर्ष सगरमाथा आरोहण गर्ने एक्ली युक्रेनियन हुँ । किनकी युद्धका कारण यसपटक हाम्रो देशबाट अरु आरोहीहरु आउन सकेनन् ।

आफ्नो देशमा रहँदा सगरमाथा आरोहण गरीसकेका कोही युक्रेनीसँग भेट्नु भएको थियो ?
हो मैले त्यस्ता थुप्रै युक्रेनीसँग भेटेको थिएँ ।

तिनैको कारण हो वा अरु कुनै कारणले तपाइँमा सगरमाथा चढ्ने रहर पलायो ?
तिनका कारण मात्र होइन । मैले सगरमाथाबारे धेरै वर्ष अघि सुनेकी थिएँ । स्कुलमा भूगोल पढदा यो विश्वको सर्वाेच्च शिखर भन्ने मात्र थाहा भएको हो । त्यसैले धेरै वर्षअघि देखि यसको आरोहण मेरो सपना रहेको थियो । तर मलाई यसै वर्ष अर्थात् सन् २०२२ मा सफल होला जस्तो लागेकै थिएन् । म त २०२३ को लागि तयारी गरिरहेको थिएँ । मेरो सपनाले नै मलाई उत्प्रेरित गरेको हो । त्यसैकारण पहिलो पल्ट म यहाँ आइपुगेँ र आउनासाथ केही स्थानमा पैदल यात्रा सुरु गरेँ । नेपाल अत्यन्त सुन्दर देश लाग्यो । मन प¥यो । सगरमाथा मैले चढन लागेको चौथो हिमाल हो । यसअघि मैले अफ्रिकाको किलिमन्जारो, रुसको एलब्रस र अन्टार्टिकाको माउन्ट भिन्सन चढी सकेकी छु ।

आफ्नो पहिलो हिमाल आरोहणलाई कसरी सम्झनुहुन्छ ।
सर्वप्रथम मैले अफ्रिकाको किलिमन्जारो हिमाल आरोहण गरेकी थिएँ । पढदै गरेको बेला सहपाठीहरुले अफ्रिका जाऔं किलिमन्जारो चढौं भने । मलाई भने अफ्रिका भन्ने ठाउँ गर्मी मात्र छ भन्ने लाथ्यो । तर त्यहाँ हिमाल आरोहण गर्न पुगियो । तर पहिलो आरोहण भएर होला मलाई अत्यन्त गाह्रो भएको थियो । अर्थात् किलिमन्जारोको शिखर टेक्नु मेरा लागि सगरमाथाको शिखरमा पुग्नुभन्दा पनि कठिन थियो भन्ने लाग्छ । किनकी त्यो मेरो पहिलो हिमाल आरोहण थियो, जहाँ मलाई कुन चिज के हो र त्यसलाई कसरी प्रयोग गर्ने वा भनौ हिमाल आरोहणमा कसरी पाइला अघि बढाउने भन्ने नै थाहा थिएन । उचाई लागेर अत्यन्त दुःखी भएकी थिएँ । त्यो आरोहण सकिएपछि मलाई अब म कहिल्यै हिमाल चढन सक्दिन भन्ने लागेको थियो । तर विस्तारै त्यो भावना हराउँदै गयो र एक वर्षपछि एलब्रस चढने आँट आयो । अनि त्यसपछि अरु हिमाल हुँदै अहिले सगरमाथा चढन तम्सिएकी छु ।

सगरमाथा चढने सोच चाहीँ कसरी पलायो त ?
गएको तीन वर्षयता मैले अब सगरमाथा चढनु पर्छ भन्ने सोच्न थालेकी हुँ । तर यो निर्णय वा योजनाको रुपमा भन्दा पनि सपनाको रुपमा थियो । मलाई थाहा थिएन कि यो सपना पुरा हुनसक्छ वा हुँदैन । योे वर्षको अप्रिलमा आएर मात्र यो अचानक सपना योजनामा परिणत हुन थालेको हो । पाँच वर्ष अघिसम्म त मैले सगरमाथा चढने कुरा सोचेकी पनि थिइन ।

युक्रेन र नेपालको हिमाल आरोहणमा के फरक देख्नुहुन्छ ।
हाम्रो युक्रेनमा त नेपालका जती अग्ला हिमाल नै छैनन् । हाम्रो सबैभन्दा अग्लो होभरला हिमालको उचाई नै २ हजार ६१ मिटर रहेको छ । म त्यहाँ पुगेकी पनि छैन । हामी कहाँ हिमाल आरोहण भन्ने कुरा नेपालमा जस्तो व्यापक छैन । अरु देशका हिमाल आरोहणसँग तुलना गर्ने हो भने मलाई सगरमाथा आधार शिविरको भौतिक संरचना र व्यवस्थापन राम्रो लाग्यो ।

भावी योजना के छ ?
अब सेप्टेम्बरमा मनास्लु चढछु होला । त्यसपछि अक्टोबरमा अस्टेलियाको पिरामिड चढने योजना छ ।

यतिबेला युद्धको विभिषिका मुनी रहेका आफ्ना नागरिकलाई तपाईको सन्देश के छ ?
मेरो सन्देश मेरा देशवासीहरुलाई कुनै हालतमा पनि आफ्नो देशको स्वाधिनताको पक्षमा लड्ने कुरा त्याग्नु हुँदैन भन्ने छ । यो निर्दयी युद्धमा युक्रेनको विजय प्रति ढुक्क हुनुपर्छ । साथै मलाई विश्वास छ, एक्काइर्सौ शताब्दीका सबै उन्मादहरु छिटो भन्दा छिटो समाप्त हुने छन् ।