देशले २०७२ मा नयाँ संविधान पाएपछि उपत्यकाको इशानकोणमा रहेका तत्कालिन छ वटा गाउँ विकास समितिहरु गोठाटार, मूलपानी, डाँछी, भद्रवास र गागलफेदी मिलाएर कागेश्वरी मनहरा नगरपालिका बनाइयो । प्रख्यात कागेश्वरी मन्दीरको नामबाट नामाकरण भएको यो नगरपालिका आफ्नो पहिलो कार्यकाल पुरा गर्दै छ ।
‘हामी नयाँ नगरपालिका भएकोले हाम्रा लागि वा हामीले गर्ने सबै कुरा नयाँ थिए’, पहिलो कार्यकाललाई समिक्षा गर्दै उपप्रमुख विन्दु पुडासैनी बताउनुहुन्छ ।
निर्वाचित हुनासाथ सबै पक्षमा नयाँ जग बसाउनु पर्ने कार्यभार नगरपालिकाको थियो । नीति, योजना, दृष्टिकोण र कार्यपद्धतिसमेत पहिलो पटक बनाउँदै थिए नगर प्रतिनिधिहरु । स्थानीय सरकारको हैसियत पाएको जनप्रतिनिधि सँस्था भएकाले नियम र कानुन बनाउने र त्यसलाई लागु गर्न सुरु गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीलाई पहिलो कार्यकालमा राम्रोसँग पुरा गरिएको पुडासैनीको भनाई छ ।
‘काम गर्न नभइ नहुने शिक्षा, स्वास्थ्य, बालबालिका र महिला लगायतका एक दर्जन कानुन बनाएर काम सुरु गरियो’, उहाँ भन्नुहुन्छ । यसमा नगरपालिकाको सुरुवाती समय र मेहेनत खर्च भएकै कारण आज नगपालिकाका हरेक गतिविधि प्रणालीगत हिसाबबाट हुन थालेको भनाई पनि उहाँको छ ।
प्रणाली बसाउन नपाउँदैन कोभिड १९ महामारी नगरपालिकाले सामना गरेको अर्को चुनौति थियो । देशका मुख्य स्वास्थ्य सँस्थालाई समेत हम्मे हम्मे परिरहेका बेला नगर बासीलाई यससम्बन्धी सेवा दिन उपमेयरका सवारी साधन समेत प्रयोगगरिएको थियो । नगरपालिकालको चुस्त व्यवस्थापनकै कारण महामारीका बेला जनताले सेवा पाउने स्थिति बन्यो ।
सार्वजनिक स्थानको संरक्षण र सदुपयोग । देशभरका नगरपालिकाले भोगेको यो चुनौतिबाट कागेश्वरी मनहरा पनि अछुतो रहेन । यसका लागि सुरुवाती वर्षमा लिइएको एक वडा एक पार्कको अवधारणाले काम गर्यो । त्यस्तै एक वटा एक व्यायामशाला र फुटशलको निर्माणले नगरबासीलाई स्थानीय सरकारले ल्याउन थालेको परिवर्तनको अनुभूति दिलायो । पुर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले केन्द्रीय योजनाको चावहिल साँखु सडकसँग जोड्ने दर्जनौं स्थानीय स्तरका सडक निर्माण गरेको छ । तीन वटा उपस्वास्थ्य चौकीलाई उपकरण युक्त बनाउँदै गागलफेदी शहरी स्वास्थ्य केन्द्रको निर्माणबाट जनतामा स्वास्थ्य सेवा नजिकबाट पुर्याउने कामको पनि थालनी भएको छ । सामान्य कामका लागि पनि घन्टौं लगाएर शहर पुग्नुपर्ने अवस्थामा परिवर्तन आएको र धेरै काम पदैल वडा कार्यालयबाट हुने प्रत्यक्ष अनुभूति जनताले गरेका छन्।
नगरपालिकाको मुख्य सम्पदाको रुपमा रहेको कागेश्वरी धामको संरक्षण र व्यवस्थापनमा नगरपालिकाले नमुूना योग्य काम गरेको छ । त्यो पवित्र स्थलमा बाटा घाटाको व्यवस्था सँगै विश्वकै सर्वाधिक ठूलो कागको प्रतिमा निर्माण गरेर भविश्यको पयटन विकासको ढोका पनि नगरपालिकाले खोलिसकेको छ । त्यस्तै लक्ष्मी हयग्रिवको विश्वमै दुर्लभ मन्दीर पनि नगरपालिकाले बनाएको जानकारी पनि उमप्रमुख पुडासैनी दिनुहुन्छ ।
महिला नेतृत्व प्रति बढदो भरोसा
संविधान र कानुनले स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै प्रमुख पद मध्ये एकमा महिला अनिवार्य बनाएका कारण देशभरका स्थानीय सरकारमा महिला नेतृत्व अगाडी आयो । महिलाको नेतृत्वमाथि हम्मेसी भर नपर्ने सामाजिक मनोविज्ञानका कारण अधिकांश तहमा उपप्रमुख पदमा निर्वाचित गरिए । त्यसरी महिला अनुहार अगाडी आएको यो पाँच वर्षको अवधिमा थुप्रै स्थानीय सरकारमा महिला नेतृत्वको सक्षमता प्रमाणित भएको छ । ‘महिलाले के गर्न सक्छन र ? भावनालाई चिर्न यसअविधिमा सफल भएका छौं’ , उपप्रमुख पुडासैनीको भनाई छ । खासगरी महिलाले जिम्मा पाएका क्षेत्रमा समयमै काम हुने, पारदर्शी र अनियमिततारहित कार्यशैलीलाई जनताले मन पराएको पनि उहाँ बताउनुहुन्छ । यस पृष्ठभूमिमा पार्टी र जनताले नगर प्रमुखको जिम्मेवारी दिए पनि आफू पुरा गर्न तत्पर रहेको भनाई उहाँको छ ।
प्रतिक्रिया