काठमाडौ / पछिल्ला दिनमा सुनको मूल्य बढेको बढ्यै छ । कोरोना महामारीदेखि बढ्न थालेको सुनको मूल्य आज मात्र २ हजारले बढी एक लाख नाघेको छ । गत वर्ष सुन इतिहासमै पहिलो पटक तोलाको एक लाख साढे तीन हजार रूपैयाँ पुगेको थियो।
गत हप्ता देखि रूसले युक्रेनमाथि आक्रमण चर्किएसंगै सुनको भाउ पनि बढ्न थालेको हो । विश्वका दुई देश लडाइँमा रहँदा विश्व बजारै अन्योलमा हुने र यसले पेट्रोलियम पदार्थ, खाद्यान्नदेखि सुनचाँदीको भाउमा प्रभाव पर्ने नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने महासंघको अनुमान छ । सुनको मूल्य घट्न पेट्रोलियम पदार्थको पनि मूल्य घट्न पर्छ।
आज सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया