भारतीय नाकाबन्दीले जनजीवनका सबै क्षेत्र आहत भएका थिए । शहरी र सदरमुकामका टोलहरुमा मटितेल र चिनीका लामा लाईन देखिन्थ्ये । तत्कालिन मरिचमान सिंह नेतृत्वको सरकार नाकाबन्दीको डटेर सामना गर्ने बताई रहेको थियो र तत्कालिन शाही नेपाल वायुसेवा निगमको जहाजमा यात्रु भरिँदाकै तौल बराबरको तेलका जर्किन ल्याएर विक्रि वितरण गरिरहेकै थियो । भारतमा भर्खरै सरकार परिवर्तन भएका कारण नाकाबन्दी केही खुकुलो भए पनि मुख्यतः बाँकी नै थियो ।
ठीक त्यति नै बेला राजधानीका सडकमा राजाले ल्याएको व्यवस्था विरुद्ध जुुलुस देखिएको पाँचौ दिन भएको थियो । यसको प्रतिकारमा ठाउँ ठाउँमा पंच ¥याली र उग्रवादी कम्युनिष्ट र अवैध काँग्रेसका विरोधमा पंच नेताहरुको भाषण भइरहेको थियो । त्यतिबेला अर्थात् २०४६ साल ताका ज्यानको बाजी लगाएर गरिने कुरा थियो त्यो । जनआन्दोलनको सुरुवाती छनक मै सत्तासिनहरुको मनमा ढ्याँग्रो ठोकेको स्पष्ट चित्रण गोरखापत्र लगायतका सरकारी संचार माध्यममा स्पष्ट देखिन्थ्यो ।
यस्तो अवस्थामा विश्वनाथ प्रताप सिंह नेतृत्वको भारतीय सरकारले नयाँ राजदुत श्री निवास सिन्हालाई नेपाल पठायो । नेपाली भाषा बोल्ने पुर्व जनरल सिन्हालाई नेपालसँग विग्रिएको सम्बन्ध सुधार्ने कार्यादेश थियो । लामो समय भारतीय गोर्खा रेजिमेन्ट (फाइभ÷फोर जिआर)को कमाण्ड गरेका र नेपालीहरुको आनिबानी राम्ररी अनुभूत गरेका उनको गोर्खा राइफलमा काम गरेका थुपै नेपालीसँग आत्मीय संम्बन्ध थियो । उनको राजदुत नियुक्तिलाई लिएर काठमाडौंमा भने आंशका मिश्रित प्रतिक्रिया थियो। दुई देशको सम्बन्ध चिसो अवस्थामै रहेका बेला एक पुर्व जनरललाई राजदुत नियुक्त गरिनु कतै सैनिक मिसन अन्तर्गत त होइन भन्नेसम्मको कुरा उठेको थियो । तर नयाँ राजदुत नियुक्तिले सम्बन्ध पुर्ववत स्थापित हुने आशामा रहेको नेपाली सत्ताले परराष्टको प्रचलित परम्परा तोडेर राजा वीरेन्द्र सामु ओहोदाको प्रमाणपत्र पेश गर्ने अवसर सिन्हालाई दिएको थियो ।
त्यही दिन तत्कालिन राजा वीरेन्द्र भने पोखरा मुकाममा थिए । सामान्यतया नेपालका लागि विदेशी राजदुत आएको केही महिना पछि नारायणहिटी दरबारमा र त्यो पनि दुई तीन देशका राजदुतलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने अनुमति दिने गरेकोमा राजदुत सिन्हालाई काठमाडौं आएको एक साता पनि नवित्तै र त्यो पनि पोखरामै ओहोदाको प्रमाणपत्र पेश गर्ने अवसर दिइएको थियो । त्यसको कारण स्पष्ट थियो, काठमाडौं जतिसक्दो छिटो भारतसँगको सम्बन्धमा जमेको बरफ फोर्न व्यग्र छ ।
भेटमा राजा वीरेन्द्रले तत्कालिन भारतीय प्रधानमन्त्री राजिव गान्धीले अखबारी टिप्पणीहरुका आधारमा नेपालसँग व्यवहार गर्न खोजेकोले सम्पन्धमा तिक्तता आएको तर नेपालले भारतसँग निहुँ खोज्ने सोच सम्म नबनाएको बताएको सिन्हाले नेपाली दैनिकसँगको एक अन्तर्वार्तामा बताएका थिए ।
प्रतिक्रिया