काठमाडौ / यस अवसरमा आजैदेखि एक महीनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला लाग्दछ ।
प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । माघ महीनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।
यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ ।
विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करीब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ ।
कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ । गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शालिनदीमा भीड नै देखिएको थियो ।
व्रतालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष व्रतालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।
प्रतिक्रिया