काठमाडौ / गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि ह्वात्तै बढेको छ । सरकारले यो वर्ष मूल्यवृद्धि ६ दशमलव पाँच प्रतिशतमा सीमित गर्ने लक्ष्य राखे पनि मूल्यवृद्धि नियन्त्रण बाहिर गएको छ ।
नेपाल राष्ट्र बैंकले मंसिरमा महंगी ७ दशमलव ११ प्रतिशत पुगेको प्रतिबेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदन अनुसार तराईमा ७.५२ प्रतिशतले महंगी बढ्दा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशतले बढेको छ । उपत्यकामा भन्दा पहाडमा पनि बढी महंगी रहेको देखिन्छ । पहाडमा ६.९५ प्रतिशतले महंगी बढेको छ ।
के के मा बढ्यो मूल्य ?
बिशेषगरि मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी र शिक्षातर्फको महंगी धेरै बढेकाले सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ ।
२०७७ मंसिरको तुलनामा यो वर्षको मंसिरमा घ्यू तथा तेल २८.५२ प्रतिशत, यातायात १६.२५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ११.७९ प्रतिशतले बढेको देखिएको छ ।
कोरोना महामारीकै बीचमा विद्यालय तथा क्याम्पसले विद्यार्थीको शुल्क बढाउँदा शिक्षाको महंगी ११.७८ प्रतिशतर सुर्तीजन्य वस्तुको ११.७४ प्रतिशतले उकालो लागेको छ । क्षेत्रगत रुपमा हेर्दा तराईमा सबैभन्दा बढी महंगी बढेको देखिन्छ ।
बजारमा तेल तथा खाद्य पदार्थसँगै पेट्रोलियम पदार्थको भाउसमेत अकासिएको छ । जसले उपभोक्तालाई दैनिकी टार्नै सकसपूर्ण छ । सरकारले बजारमा नियमन गरेको देखाएपनि प्रभावकारी हुन सकेको छैन ।
महंगी भन्दा ज्याला तथा तलबको बृद्धि निकै कम मात्रै भएको छ । महंगी ७ दशमलव ११ प्रतिशतले बढ्दा दैनिक मजदुरी गरेर ज्याला लिनेहरुको आम्दानी भने जम्मा ५.७१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया