प्रिन्स दाहालले रचे विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ २९ पुस

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियता अनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।

महासङ्घले जारी गरेको बरियता अनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन् । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ ।

यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् ।

फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा छन् ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले  आफ्नो सपना पूरा भएको बताए । उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए ।

अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए ।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ ।

राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।

कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन् ।

पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत छन् ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो।
व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ ।

ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए ।

दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ । दाहाल हालसम्म कुनै पनि विभागिय क्लबमा आबद्ध हुनुहुन्न । उनी सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका थिए ।

विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल पहिलोपटक ३२औँ स्थानमा रहन सफल भएका थिए ।

त्यही वर्ष पुसमा जारी बरियतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको बरियतामा दाहाल १०औँ स्थानमा उक्लिएका थिए ।

विसं २०७६ चैतमा महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल भएका हुन् ।

त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर थिए । मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा थिए । दुवै जना हाल सिनियर प्रतियोगिता खेल्दै आएका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ ।

दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।

यस्तै विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको बरियताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९ औँ स्थानमा पर्न सफल भएका छन् ।