कीर्तिपुर ; कीर्तिपुर बहुउद्देश्यीय सहकारीले अब पर्यटन क्षेत्रमा लगानी गर्ने भएको छ । शनिबार सम्पन्न सँस्थाको २१ औं वार्षिक साधारण सभामा अध्यक्ष दीलबहादुर महर्जनद्वारा प्रस्तुत प्रतिवेदन पारित भएपछि सहकारीलाई पर्यटन क्षेत्रमा लगानी गर्ने बाटो खुलेको हो ।
प्रतिवेदनमा सँस्थाको दीर्घकालीन योजना अन्तर्गत कीर्तिपुर क्षेत्रमा पर्यटन व्यवसाय प्रवर्धन गर्न सम्बन्धित विज्ञसँग आवश्यक छलफल तथा परामर्श गरी पर्यटन क्षेत्रमा लगानी गर्ने उल्लेख छ ।
यसै गरी सदस्य सेवा काउन्टर विस्तार गर्ने, आय आर्जन गर्ने विभिन्न क्षत्रको पहिचान गरी संस्था आफैं वा सहकार्यमा लगानी गर्ने, कीर्तिपुर सहकारीलाई वागमती प्रदेशको पहिचान हुने गरी विकास गर्दै लैजाने लगायतका विषयसमेत दीर्घकालिन योजनामा छन् ।
यसै गरी सँस्थालाई प्रविधि मैत्री बनाउँदै जाने, उद्योगी र व्यापारीको भेला आयोजना गरी लगानी वृद्धि गराउने र सँस्थाका सदस्य र परिवार सदस्यहरुलाई निजामती सेवा आयोग तथा अन्य सेवा आयोग, वित्तीय संस्था र विभिन्न संस्थानहरुमा लिइने परिक्षाको तयारी कक्षा सञ्चालन गरिने विषय अल्पकालिन योजनामा छन् ।
साधरण सभाको उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीन राज कँडेलले सहकारीले आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान दिएको उदाहरण नेपाल र विश्वभर नै पाइने बताउँदै केही सहकारीका खराब कामलाई हेरेर समग्र सहकारी आन्दोलनलाई बुझ्ने प्रवृत्तिलाई हटाउनु पर्ने बताउनुभयो । एउटा सदस्यका सबै आवश्यकता पूरा गर्न सक्ने गरी सहकारीको विकास गरिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया