पौष ०८,काठमाडौं ।
मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका(३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ बाट पक्राउ गरेको हो ।
उनि विरुद्ध वैदेशिक रोजगारीमा लैजाने र पैसाको प्रलोभनमा मानव ओसारपोसार गरेको भन्दै उजुरी परेपछि निजलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको काममा सिसेल्स देशमा लैजाने भनि विभिन्न प्रलोभनमा पारी पीडितलाई २०७८ बैशाख १२ गते दुबई हुँदै सोमालिया नजिकको समुन्द्री क्षेत्रमा पुर्याएको र पीडित बिरामी भई काम गर्न नसक्ने हुँदा कुनै प्रकारको उपचार नगराई पानी जहाजमा नै राखेकोमा २०७८ असोज २ गते पीडितको मृत्यु भएको थियो ।
साथै मृतकको शव नेपाल झिकाउने सम्बन्धमा पीडितका परिवारले अनुरोध गर्दा समेत शव ल्याउनको लागि ४० लाख रुपैयाँ लाग्छ भनि मृतकको परिवारलाई क्षतिपुर्ति दिलाउने काममा समेत असहयोग गरेको घटनामा संलग्न कटुवाल विरुद्ध पिडित पक्षले प्रहरीमा उजुरी गरेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया