काठमाडौं २६ मंसिर
यतिवेला काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको छ ।
उपत्यकामा पछिल्लो २४ घण्टाको तापक्रम न्यूनतम ५.४ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९।८ डिग्री रहेको छ महाशाखाले जनाएको छ ।
त्यस्तै जुम्लाको तापक्रम माइनस ४।७ डिग्री मापन भएको छ । त्यहाँ अधिकतम तापक्रम १५.९ डिग्री रहेको छ । तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो । धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०।३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन भएको छ ।
आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ, महाशाखाले भनेको छ ।
प्रतिक्रिया