काठमाडौ / कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएका छन् । इन्सेकले तयार पारेको प्रतिवेदन अनुसार विभिन्न घटनामा परी २ सय ३१ जना पीडित भएका हुन् ।
इन्सेकका अनुसार बागमती प्रदेशमा १ सय ३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भए ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।
कात्तिक महिनामा प्रहरीले १५ जना महिलासहित १ सय १९ जनालाई गिरफ्तार गरेको समाचार प्रकाशन गरिएको छ । ‘प्रहरीले सर्वोच्च अदालत परिसरमा नेपाल बार आबद्ध अधिवक्ताहरूले प्रधानन्यायाधीशको राजिनामा माग गर्दै गरिएको प्रदर्शनमा र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दका क्रममा सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको हो ।’–विश्लेषणमा उल्लेख छ ।
त्यसैगरी यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुर्व्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएका समाचार प्रकाशन गरिएको छ । कात्तिक महिनामा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा ६ जना पत्नीको हत्या भएको छ ।
त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको समाचार इन्सेक अनलाइनमा प्रकाशित छ । ‘कात्तिक महिनामा बाल अधिकार उल्लंघनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएका समाचार प्रकाशन गरिएको छ ।’–जारी विश्लेषणमा भनिएको छ ।
प्रतिक्रिया