कोभिड नियन्त्रण खर्चको नालीवेलीः करिब ४ अर्बको खोप खरिद, अन्यमा कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं /सरकारले कोभिड–१९ नियन्त्रण नै आफ्नो प्रमुख लक्ष्य भएको र त्यसको लागि निरन्तर प्रयास गर्दै आएको वताउँदै आएको छ । सो अनुरुप कोभिड नियन्त्रण हुदै गएको दावी पनि सरकारको छ ।

कोभिड नियन्त्रणको लागि भन्दै सरकारले साढे एक वर्षमा साढे १२ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७ /७८ मा विभिन्न १० शीर्षकमा १२ अर्ब ५६ करोड २१ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ ।

सरकारले कोभिड–१९ नियन्त्रणका लागि आर्थिक वर्ष ०७७ ७८ मा संघतर्फ १३ अर्ब ७१ करोड ४५ लाख, प्रदेशतर्फ दुई अर्ब ३८ करोड ४७ लाख ५४ हजार र स्थानीय तहका लागि ४८ करोड ५७ लाख २० हजार रुपैयाँ बजेट छुट्ट्याएको थियो ।

जसमध्ये संघतर्फ मात्रै १० अर्ब ५२ करोड ५२ लाख ४१ हजार रुपैयाँ खर्च भएको छ भने प्रदेशतर्फ एक अर्ब ७८ करोड १२ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, स्थानीय तहले गत आर्थिक वर्षमा २५ करोड ५६ लाख ७८ हजार रुपैयाँ खर्च गरेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी खोप खरिदमा खर्च भएको देखिएको छ । आर्थिक वर्ष ०७७र७८ मा खोप खरिदमा मात्रै सरकारले तीन अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयको तथ्यांक छ ।

कोभिड–१९ को संक्रमण उच्च भएका बेला एक वर्षमा सरकारले गरेको यो खर्च आर्थिक वर्ष ०७६र७७ को भन्दा करिब चार अर्ब १६ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष ०७६(७८ मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ०७७ जेठसम्म कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीनै तहमा गरी जम्मा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाइएको थियो ।

मन्त्रालयको खर्च विवरणमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने औषधि, अन्य औषधि, अक्सिजन, सर्जिकल सामग्री तथा पीपीई, सरसफाइ सामग्री, स्यानिटाइजर खरिदमा ५७ करोड ८२ लाख दुई हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

कोभिडको उपचारको लागि अक्सिजन प्लान्ट ट्यांक खरिद तथा जडानमा ६६ करोड १६ लाख १० हजार रुपैयाँ खर्च भएको छ भने जोखिम भत्ता, कर्मचारी व्यवस्थापन र सोसँग सम्बन्धित औषधि एवं औषधिजन्य सामग्रीहरूको समेत आवश्यक व्यवस्थापन खर्च शीर्षकमा एक अर्ब १५ करोड ९२ लाख एक हजार रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांक छ ।

कोभिड–१९ उपचार व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तथा कर्मचारी करार सेवामा लिँदाको खर्च तीन करोड २३ लाख ४७ हजार, ल्याबमा आवश्यक पर्ने विभिन्न प्रकारका रिएजेन्ट, जनशक्तिलगायतमा एक अर्ब पाँच करोड ४२ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।

अस्पतालहरूमा आईसीयू, एचडीयू भेन्टिलेटरलगायत औजार खरिद तथा जडानमाएक अर्ब ६३ करोड १५ लाख ४६ रुपैयाँ खर्च भएको छ ।

साथै अस्पतालहरूलाई कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गरेबापतको सोधभर्ना, कर्मचारीको जोखिम भत्तालगायत कर्मचारी व्यवस्थापन र सोसँग सम्बन्धित औषधिजन्य सामग्री समेतको व्यवस्थापनमा सरकारले गत आर्थिक वर्षमा एक अर्ब ५२ करोड २९ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ ।

कोरोना बिमा क्षतिपूर्ति भुक्तानीमा सरकारले बजेट निकै कम छुट्ट्याएको पाइएको छ । मन्त्रालयले अर्थिक वर्ष ०७७(७८ का लागि यो शीर्षकमा जम्मा एक करोड २३ लाख रुपैयाँ छुट्ट्याएकोमा सो सबै रकम खर्च भएको देखिएको छ । सरकारले कोभिड–१९ को नियन्त्रण र उपचारमा प्रत्यक्ष रूपमा खटिँदा मृत्यु भएकाहरूको आश्रितलाई कोरोना बिमा रकम क्षतिपूर्ति दिने व्यवस्था गरेको थियो ।

त्यसैगरी, कोभिड–१९ रोकथाम तथा नियन्त्रणलगायत स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन, प्रकाशन, प्रसारणलगायतमा आठ करोड ३६ लाख ४७ हजार र विविध खर्चबापत ११ करोड ४५ लाख ९४ हजार रुपैयाँ गरी जम्मा १२ अर्ब ५६ करोड २१ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।