
भनिन्छ बनेपा काठमाडौ उपत्यका तालमा डुबेको समयमा नै अस्तित्वमा थियो । तर प्रामाणिक इतिहासमा महाभारतको युद्धकाल भन्दा पनि पहिलेसम्म काठमाडौ उपत्यकामा राज्य गरिरहेका किराती राजालाइ कामरूप (आसाम) का राजा भूमी बर्माले हराएका थिए । यसरी हार खाएपछि राजा योंकहाङ बनेपा पुगेका थिए । पहिले पहिले भोट जाने बाटो नै यहि भएकोले यो शहरलाइ भ्वतः भन्ने गरिन्थ्यो ।

बिक्रमको बाह्रौ शताब्दीमा उपत्यकामा राज्यको थालनी गर्ने मल्ल वंशका चौथो राजा अभयदेव मल्लका भाइ आनन्ददेव मल्लले भक्तपुरमा राज्य गरे र बनेपा वरपर ७ वटा नया शहर बनाए । प्रत्येक शहरमा मन्दिरको स्थापना पनि गराए । चन्देश्वरी मन्दिर भएको शहर बनेपा, प्रयाग तिर्थ (सचि तिर्थ) भएको शहर पनौती, नाला भगवती भएको शहर नाला, नारायण मन्दिर भएको शहर धुलिखेल, धनेश्वरी मन्दिर भएको शहर खांडपु, चकोर ऋषिको आश्रम भएको शहर चौकोट र नासिका पीठ भएको शहर सांगा गरी सात शहरको स्थापना
गराए । यसरी शहर बसाए पछि आनन्ददेवले बनेपाको वरपर ८ वटा गणेश मन्दिर, ८ वटा पाेखरी र पाेखरी संगै फल्चा (बस्ने स्थान)को निर्माण गराएका थिए । दक्षिणमा तुकम्प्वो गणेश, दक्षिण पूर्वमा कोभः गणेश पूर्वमा वकु गणेश, उत्तर पूर्वमा कांथु गणेश, उत्तरमा थाछु गणेश, उत्तर पश्चिममा ज्यासःननी गणेश, पश्चिममा तलाः पुखु गणेश, दक्षिण पश्चिममा क्वोंला गणेशको स्थापना गराएका थिए । यो ८ गणेश र यसमा रहेको पाेखरी नै त्यो समय बनेपा राज्यको सिमाना थियो ।
यक्ष मल्लको राज्य बिस्तारको क्रममा नेपाल राज्य निकै बिशाल थियो तर उनको मृत्यु पछि उनका छोराहरूले राज्य बिभाजन गर्दा उनका छोरा रण मल्लले बि.सं. १५५१ तिर बनेपा लगायत सात शहरलाइ आफ्नो राज्य बनाए । पछि फेरी बि.सं. १६२० भन्दा केही अगाडी काठमाडौका राजा महेन्द्रमल्लले बनेपालाई आफ्नो राज्यमा गाभेर भोट संगको ब्यापार बिस्तार गरे ।
श्रोत- फोटोग्राफर तथा इतिहासकार सुनिल उल्क






प्रतिक्रिया