काठमाडौ /सरकारले आगामी पुषदेखि घरायसी ग्राहकको शुल्कमा औसतमा २ दशमलव पाँच प्रतिशतले कटौति गरेको छ ।
मासिक १ सय ५१ देखि ४ सय युनिटसम्म खपत गर्ने ग्राहकहरुको महसुलमा २५ रुपैयाँ कटौति गर्ने निर्णय गरको छ । यो निर्णय आगामी पुष देखि कार्यान्वयनमा आउनेछ ।
त्यसैगरि आयोगले मौसम अनुसारको महसुल पनि निर्धारण गरेको छ । ४ सय युनिटसम्म बिद्युत खपत गर्ने ग्राहकको हकमा वर्षा यामको इनर्जि शुल्कमा प्रतियुनिट १ रुपैयाँले घटाएर साढे १० रुपैयाँ र सुख्खा समयको शुल्कमा भने ५० पैसाँ मात्रै घटाएर साढे ११ रुपैयाँ कायम गरिएको छ ।
विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।
विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा औसतमा २.८४ प्रतिशतले घटाईएको छ ।”
आयोगका अनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने पाँच एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महसुल दरमा रु २५ ले कटौती गरी क्रमशः रु १००, रु १२५ र रु १५० कायम गरिएको छ ।
विद्युतीय सवारी साधनको उपयोग बढाउन थ्री–फेजबाट विद्युत् आपूर्ति लिने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा असारदेखि कात्तिकसम्म वर्षा यामको महसुल दर र मङ्सिरदेखि ज्येष्ठसम्म सुक्खा यामको महसुल दर हुने गरी मौसमी दर कायम गरिएको छ ।
आयोगका अनुसार थ्री–फेज तल्लो भोल्टेज (२३० ४०० भोल्ट) बाट आपूर्ति लिने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा मासिक ४०० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रतियुनिट रु एकले घटार्ई प्रतियुनिट रु १०।५० कायम गरिएको छ ।
त्यसैगरी मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट रु १.५० ले घटार्ई प्रतियुनिट रु १०.५० र सुक्खा यामको इनर्जी शुल्क ५० पैसाले घटार्ई प्रति युनिट रु ११.५० कायम गरिएको छ । आन्तरिक विद्युत् खपत वृद्धि गराउने नेपाल सरकारको नीतिअनुरूप तथा थ्री–फेजबाट विद्युत् उपभोग गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको समेत साविकको भन्दा कम महसुल हुने गरी महसुल दर स्वीकृत गरिएको जानकारी दिइयो ।
मुलुकमा हाल विद्युत् ग्राहक सङ्ख्या ४९ लाख ८९ हजार ४९४ रहेकामा २० युनिटभन्दा कम खपत गर्ने न्यून आय भएका ग्राहकको सङ्ख्या १९ लाख ८६ हजार ५०७ छ ।
प्राधिकरणका अनुसार अहिले बिद्युत प्राधिकरणका कुल ४९ लाख ७९ हजार ग्राहकमध्ये १९ लाख ८६ हजार ग्राहकले २० युनिटभन्दा कम बिजुली खपत गर्ने गरेका छन् ।
प्रतिक्रिया