प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारप्रति पूर्व न्यायधिश फोरमको शंका, निकास दिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरिएको छ । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै राजीनामा माग गरेको हो ।

फोरमले छैठौं साधारण सभाका क्रममा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण प्रस्तुत गर्दै मन्त्रिपरिषदमा भागबन्डा खोजेको प्रकरणलगायत विषयमा विवादित बनेका प्रधानन्यायाधीश राणाले स्वयं निकास दिनुपर्ने वताएको हो।

फोरमद्धारा शुक्रबार जारी विज्ञप्तिमा राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरिएको छ । साथै फोरमले प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तब्य पूरा गर्न अग्रसर हुनका लागि आग्रह गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनमा नै प्रधानन्यायाधीशको भूमिकामा उठाइएको प्रश्न, प्रतिनिधिसभा विघटनका मुद्दालगायत विभिन्न मुद्दाहरुको पेशी सूची तोक्ने सम्बन्धमा उठेका विवादहरू, संवैधानिक अंगमा गरिएको नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएको भनी आरोप लागिरहनु, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र प्रधानन्यायाधीशलाई नै विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाइमा गरिएको ढिलाई तथा मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीको समाचारसमेतको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्ने विज्ञप्तीमा उल्लेख छ ।

न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरुको भएको फोरमको ठहर छ । फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशलाई अगाडि आउन पनि अनुरोध गरेको छ ।