काठमाडौँ /सरकारले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख सहयोग दिने घोषणा गरेको छ । साथै दुईजना वा त्यसभन्दा बढी गुमाएका परिवारलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्राकृतिक प्रकोपबाट भएको मानवीय क्षतिको विश्लेषण गर्दै राहत दिने निर्णय गरेको हो । यसैगरी बैठकले बाढीपहिरोले जमिन गुमाएकालाई जमिन उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।
पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।
बिचल्ली भएकालाई ५० हजार
त्यस्तै सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
पहिरोले घर पूर्णरूपमा क्षति भएकालाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
आजै बसेको विपद् व्यवस्थापन परिषदको बैठकले वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए ।
प्रतिक्रिया