बाँकेमा हत्या गरिएका दुई महिलाको न्यायका लागि काठमाडौंमा आमरण अनशनरत रुबी खानसँग सरकारले लिखित सहमती गरेको छ । सहमती भएपछि रुबी खानसहित हिंसा पीडितका परिवारले अनशन तोडेका छन् ।
उनीहरु बाँकेका निर्मला कुर्मी र नकुन्नी धोबीको हत्यारालाई कारबाहीको माग राख्दै अनशन बसेका थिए ।
ति महिलाको शंकास्पद मृत्युबारे सरकारले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्ने सहमति भएसँगै हिंसा पीडितका परिवारले अनशन तोड्न मानेका हुन् ।
दुई महिलाको शंकास्पद मृत्युबारे अनुसन्धानको माग गर्दै बाँकेबाट ५२० किलोमिटरको पैदलयात्रा गरी उनीहरू काठमाडौं आएर माइतीघर मण्डलामा धर्ना दिएका थिए ।
सोमबार र मंगलबार भएको वार्तापछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान गर्ने सहमति भएको हो ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेसहितको टोली र अन्दोलनकारीका प्रतिनिधिबीच माइती नेपालको कार्यालयमा वार्ता भएको थियो ।
आन्दोलनकारीका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि वार्तामा सहभागी थिए ।
समितिमा नेपाल प्रहरीका एसएसपी र आन्दोलनकारीका तर्फबाट शेर बागबान सदस्य रहने बताइएको छ ।
प्रतिक्रिया