काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।
उनले संघको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन । घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन ।
उनले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिल गरिन ।
सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन ।
लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो, उनले भनिन ‘समयमा नै चुनाव हुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनि हाम्रो टिमले पूर्णता पाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ ।
अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउँने लक्ष्य रहेको उनले बताईन । उनले भनिन ,‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन, त्यो अधिकार सबैले पाउँनुपर्छ ।’
अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताईन।
उनले विदेशमा हासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सिपयुक्त बनाउन सकिने उनको भनाई छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन ।
घोषणा सभामा नै उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका निवासी थापा,बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसी बीच अध्यक्षमा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया