काठमाडौँ – आजदेखि नेकपा एमालेको विधान महाधिवेशन देखि सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुहुने छ ।
कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ ।
उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप(महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
६ हजारभन्दा बढी प्रतिनिधि
विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने एमालेले जनाएको छ ।
विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुमध्ये केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६ छन् । केन्द्रीय आयोग तथा परिषद्का २१३ र केन्द्रीय विभागका ३१० जना छन् ।
यसैगरी जनसंगठन– २२० प्रदेश कमिटी– २२७१ उपत्यका विशेष कमिटी– १९८ र सम्पर्क समन्वय कमिटका ३६० छन् । त्यस्तै जिल्ला कमिटीका पदाधिकारी– ३६४, निर्वाचन क्षेत्रबाट– ४०७ तथा प्रवास क्षेत्रबाट १२६ जना छन् ।
साथै स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४, एकता प्रक्रियाबाट समायोजन– ५३२
र केन्द्रीय कमिटीबाट मनोनयन– ५६६ जना रहेका छन् ।
प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ ।
तीमध्ये ३ हजार प्रतिनिधिहरु मूल सभाहलमा रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १÷१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।
महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ भने तेस्रो दिन पर्सि दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।
प्रतिक्रिया