व्यापार घाटा वेहोर्दै मुलुकः आयात १५० अर्ब, निर्यात २० अर्ब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ

चालू आर्थिक वर्षको पहिलो महिनामै मुलुकले चरम व्यपार घाटा वेहोर्नु परेको छ । पहिलो महिनामा कूल वस्तु व्यापार घाटा एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । कूल व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७÷७८ को तुलनामा ७०.६ प्रतिशतले वृद्धि भएको हो । सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।

चालू आवको पहिलो महिनामा कूल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई रु एक खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाइजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ ।

निर्यातमा पनि वृद्धि

यसैगरी चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात भने ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फको निर्यातमा क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै अलैँची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ ।