काठमाडौ /प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्यलाई एकाकार गरेको बताउनुभएको छ । सातौँ संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने सरकारको लक्ष्य हो भन्नुभयो ।
संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको हो । हरेक वर्ष असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) मनाइन्छ । नेपाल सरकारले संविधान दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
प्रधानमन्त्री देउवाले स्वतन्त्रता र मुलुकको समृद्धिको लागि दशकौँदेखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलनसमेतको माध्यमबाट भएको यो अभूतपूर्व राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो ।
उहाँले मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवर्तनका लागि भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोर्नुभएका एवं बेपत्ता नागरिकलाई उच्च सम्मानपूर्वक स्मरण गर्नभुएको छ । साथै उहाँले सातदशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपङ्क्तिमा रही नेतृत्व गर्नुहुने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिकप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
“विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो । त्यसैले संविधान दिवस एक विशिष्ट राष्ट्रिय खुसीको दिन हो । यस अवसरमा पनि हामी खुला मनले अधिक सहभागिताबाट राष्ट्रिय उत्सव मनाउन सकेका छैनौँ, किनकी कोभिड–१९ को महामारीबाट हामी सबै जोगिँदै यस्ता उत्सव मनाउनुपर्ने बाध्यता रहेको छ”, उहाँले उल्लेख गर्नुभयो ।
शताब्दीकै कहालीलाग्दो कोभिड–१९ को विश्वव्यापी महामारीबाट मानवजाति आक्रान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिबद्ध एवं क्रियाशील रहेको बताउनुभयो ।
नागरिकको जीवन रक्षा गर्नु पहिलो प्राथमिकता
प्रधानमन्त्री देउवाले वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड–१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यही असोज महिनाभित्र एक तिहाइ र यस वर्षभित्र खोप लगाउनयोग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरिनेछ । अग्रस्थानमा खटिने राष्ट्रसेवकलगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रम नेपाल सरकारले सञ्चालन गरिरहेको छ ।”
नागरिकको लामो सङ्घर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनप्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको बताउनुभयो । यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी समृद्धिको मार्गतर्फ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम सङ्घीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उद्देश्य भएको बताउँदै उहाँले यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रदेश र स्थानीय तहलाई बाँकी विभिन्न निकायको हस्तान्तरण गरिनेछ
“सङ्घीयता कार्यान्वयनलाई समीक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी विभिन्न निकायको हस्तान्तरण गरिनेछ । साधनस्रोत र जनशक्तिको समुचित बाँडफाँट गरिनेछ । संविधानको सफल कार्यान्वयनका लागि आवश्यक कानुन बनाइने छन् । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धन संस्कृतिको विकास गर्दै राष्ट्रिय हित, सामाजिक आर्थिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध हुँदै सङ्घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेदरहित सवल एवं समृद्ध नेपालको निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता हो” प्रधानमन्त्री देउवाले भन्नुभयो ।
राजनीतिक प्रणालीलाई थप मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता स्वतन्त्र प्रेस प्रतिको प्रतिबद्धतासमेत निरन्तर रहने उहाँको भनाइ थियो ।
प्रतिक्रिया