काठमाडौँ, २ असोज
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक कोभिड–१९ महामारीको कहरमा गुज्रिएको वेला शासनको वागडोर सम्हाल्नुभएको थियो । पाँच दलीय गठबन्धनको सहयोगमा काग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सरकार निर्माण भैरहदा देश कोभिड कहरको मारमा परेको मात्र नभएर देशमा प्राकृतिक विपद्का घटना पनि भइरहेका थिए । यो बीचमा मुलुकले बाढी, पहिरो, डुबानको क्षति पनि झेल्नु प¥यो । सरकारले कोभिड रोकथाम र बाढीपीडितको उद्धार विशेष ध्यान दिदै काम गरेको दावी पनि गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कठिन परिस्थितिकाबीच नेतृत्व सम्हालेको वर्तमान सरकारले जनचाहन र राष्ट्रको हित अनुकूलका कामलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो । कोभिड महामारीबाट शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै जनताको दैनिक जीवनयापनलाई क्रमशः सहज तुल्याएर राष्ट्रको समृद्धिमा जुट्नुको विकल्प नभएको उहाँको भनाइ छ ।
के के गर्यो त सरकारले यस अवधिमा ?
देउवा सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेर कोरोनाको रोकथाम, नियन्त्रण र उपचार गरेपछि अहिले कोरोना सङ्क्रमण लगभग नियन्त्रणको चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कहरुले कोरोना नियन्त्रण उन्मुख भएको पुष्टि पनि गरेको छ ।
सरकारले चैतसम्म ७१।६ प्रतिशत जनतालाई खोप दिइसक्ने प्रतिबद्धतासमेत जनाएको छ । यसअनुसार निर्धारण गरेको दुई करोड १७ लाख ५६ हजार ७६३ जनाले चैतसम्ममा खोप लगाइसक्ने तयारीमा सरकार छ ।
चीन सरकारसँग सम्झौता गरेको ६० लाख भेरोसेल खोपमध्ये ४४ लाख मात्रा खोप शुक्रबार काठमाडौँ आइसकेको छ भने १६ लाख डोज खोप यसअघि नै ल्याइएको थियो । उपत्यकामा ४० प्रतिशत नागरिकले दुवै मात्रा खोप लगाइसेका छन् ।
यसैगरी सरकारले सरकारले १८ वर्षमुनिका बालबालिकालाई खोप दिइने सुनिश्चितता गरेको छ । चालीस लाख मात्रा मोडर्ना खोप आउने निश्चित भएको छ । सरकारको युद्धस्तरको तयारीका कारण बाँकी खोप चाँडो आउने चरणमा छ ।
असोज मसान्तभित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया