काठमाडौँ (नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने संकेत दिनुभएको छ । शुक्रबार बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै उहाँले अबको एक हप्ताभित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने वताउनुभयो ।
सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताउँदै अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो “प्रत्येक प्रदेशमा रहेको संसदीय दलहरुलाई त्यहाँ रहेको स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुलाई सहकार्य गर्न तयार भए सहकार्यको संस्कृति लिएर जानेछौँ, हाम्रोविरुद्धमा गलत आरोप र भ्रम पैदा गर्छन् त्यसको हामी सशक्त खण्डन गर्नेछौँ, त्यसलाई चिर्नेछौँ, यसर्थमा पनि सरकारले केही दिन भित्रमै पूर्णता पाउनेछ ।”
उहाँले संसदको बैठक ४ गते र हाम्रो केन्द्रिय कमिटीको बैठक पनि ५ गते बोलाएको जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले एमसीसीलाई पठाएका जवाफ आइसकेको र त्यसको बारेमा छलफल भइरहेको बताउँदै एमसीसीलाई सोधेका सात प्रश्नको जवाफका बारेमा छलफल भइरहेको र जनमानसको मानसिकतालाई ध्यानमा राखेर मात्रै एमसीसीको निर्णय लिने जनाउनुभयो ।
साथै अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह गर्नुनुभयो। उहाँले तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने बताउनुभयो।
प्रतिक्रिया