काठमाडौं : टुर गाइडहरूले लाइसेन्स नविकरण शुल्क पुरै छुट दिन सरकारको ध्यानाकर्षण गरेका छ्न् । नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ(निटोग)ले आज एक विज्ञप्ति जारी गरि यस्तो माग गरेको हो । गत सोमबार चितवन राष्ट्रिय निकुञ्जले त्यस क्षेत्रमा कार्यरत नेचर गाइडहरुको कार्य अनुमती पत्र (लाइसेन्स) तुरुन्त नवीकरण गर्नु पर्ने र नवीकरण नगरे प्रवेश शुल्क तिर्नु पर्ने आशयको सूचना जारी गरेको निटोगले जनाएको छ ।
विज्ञप्तिमा कोभिड १९ का कारण सिर्जित यो विषम परिस्थितिमा ट्रेकिङ गाइड, टुर गाइड, ¥याफ्टिङ तथा क्यानोनिङ्ग गाइड, नेचर गाइड लगाएतका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको जनजीविका अस्तव्यस्त भएको उल्लेख छ । पर्यटन क्षेत्रका ८० प्रतिशत भन्दा बढी पर्यटन श्रमिकहरु बेरोजगार भएको तथ्य अनेकौँ सर्वेक्षणहरुले समेत पुष्टि गरिसकेको पनि निटोगको दावी छ ।
“एकातिर यस्तो विषम परिस्थितिमा राज्यले पर्यटन व्यवसाय नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था बजेटमै गर्यो तर सरकारले सोही व्यवस्था पर्यटन श्रमिकहरुलाई पनि गर्नु पर्छ भनेर सोच्न समेत सकेन ।” विज्ञप्तिमा उल्लेख छ ।
सिंगो उद्योग चलाउन जति पुंजी लगानीको आवश्यकता पर्छ त्यति नै श्रमको लगानी हुन सकेन भने उत्पादन हुन सक्दैन भन्ने कुरा सरकारले विर्सदै समग्र पर्यटन उद्योग र आम श्रमिकहरुलाई विस्थापित गराउन खोजेको निटोगले बताएको छ ।
आम पर्यटन श्रमिक र गाइडहरुलाई बेवास्ता गरी पेशाबाट विस्थापित हुन पुगेमा भविष्यमा दक्ष श्रमशक्ति संकटको भयको ख्याल राख्न समेत अनुरोध गरेको छ । सरकार र चितवन राष्ट्रिय निकुञ्जको उक्त निर्णय प्रति निटोगले आपत्ती जनाउँदै यस्तो विषम परिस्थितिमा आम पर्यटन श्रमिकहरुको कार्य अनुमती पत्र (लाइसेन्स) नवीकरण बापत लाग्ने शुल्क छुट गरी सहुलियत प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया