काठमाडौं : आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ । यो दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यो दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ ।
सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरूले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परिक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गर्छन् ।
चाहे मुस्लिमहरूको मदरसामा तपाईँलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक–शिक्षिकाहरू किन नहुन् ? उनीहरूले सिकाएका र दिक्षाएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौँ ।
भनिन्छ, असल गुरुको प्राप्ति या छनौट अधिकांश समस्या र दुविधाहरूको निरोध हो । तथापि आधुनिक युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधिको यो युगमा पक्कै पनि हामीले ज्ञान प्राप्तिका लागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर र त्यसैलाई गुरु थापेर सिक्नुपर्ने जरूरत छ, न त गुरु दक्षिणाका रूपमा औँला काटेर बलिदान दिनुपर्छ । विश्वस्तरका शिक्षाका लागि संस्थागत रूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरूले पनि हामीलाई गुरुरूपी शिक्षा दिइरहेका हुन्छन् ।
औषधिको तथ्य र असरदेखि चन्द्रमाका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहीँका श्रोतबाट अध्ययन गर्ने यो पुस्ताहरूलाई गुरु–पूर्णिमाले केही फरक अनुभव दिन सक्छ ।
तर संसार जहाँ नै पुगे पनि गुरु–तत्वले स्वरूप परिवर्तन गरेको हो, शिक्षा आकाशबाट बर्सिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरू सबै जना गुरु हुन्, गुरु तत्व हुन् । संसार जत्तिकै आधुनिक र ज्ञानहरू जत्तिकै सहज र ब्यवसायिक रूपमा उपलब्ध भए पनि संसारमा गुरु तत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरु तत्वको त्यही महत्वलाई आत्मसात् गरेर हुन सक्छ, सनातन संस्कार–संस्कृतिमा वर्षपछिको वर्ष र युगपछिका युगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ ।
आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरु तत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरूलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ ।
गुरुमार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैँ अघि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो, गुरु पूर्णिमा ।
‘गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः’
अर्थात्,
‘गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्म । यस्ता गुरुलाई म नमस्कार गर्दछु ।’
एकफेर सोचौँ न, हामीलाई जिन्दगीले कति धेरै कुराहरू सिकाएको छ । जस्तै हामी सही र गलतमा फरक छुट्याउन सक्छौँ । वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौँ । तपाई हामीले कुनै बखत सही कुरा र पथ छान्यौ या छानेनौँ भनेपनि हामीले आफ्ना पाइलाहरू कतातिर जाँदैछ भनी अरु कसैलाई सोध्नै पर्दैन । हृदयको स्पन्दनले आफैँ हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ ।
गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरु तत्वले आवाज निकाल्छ, नाई ! त्यसो नगर । त्यो गलत हो भन्ने आवाज सुनेपछि हामी कतिले पाइला रोक्छौँ, त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरु तत्व रहेको छ ।
सत्यलाई आत्मसात् गर्नसके गुरु तत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केही न केही सिकाएरै जान्छ । तसर्थ, हरेक पाठलाई आत्मसात् गर्न सके गुरु पूर्णिमाको र गुरु तत्वको सही उपयोग हुनेछ ।आफूलाई पढाउने सर, मिस, दाई, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ । सम्झना गरौँ । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !
प्रतिक्रिया