काठमाडौं : टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा कठिन प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार महिला ४८ केजी तौल समूहमा सोनिया र रसियाका इरिना डाेल्चािबच पहिलो चरणमा प्रतिस्पर्धा हुने तय भएको छ।
यो खेल आगामी शनिबार स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ। यो समूहको पदकको टुंगो शनिबार नै लाग्नेछ। सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् ।
इरिनाले यसै मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन् । नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् । उनी वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।
इरिनाविरुद्ध जित हात पार्न सके सोनियाले अन्तिम १६ मा स्थान बनाउनेछिन् । तर, सोनियालाई अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी २५ वर्षीया इरिनाविरुद्ध जित हात पार्न त्यति सहज छैन ।
प्रतिक्रिया