काठमाडौं :निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।
आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो ।
सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ ।
इजलासका प्रमुखसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले जसपा नेपाल नामक दल २४ असार २०७७ मा दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता पत्रको सक्कलसहित आयोगमा उपस्थित हुन आदेश दिएको हो ।
‘निवेदक पक्ष र विपक्षी दुवैलाई ११ गते केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारी र सदस्यसहित पक्षविपक्षमा खुलेर आउनू भनेका छौं । सोही दिन नै नागरिकता वा मतदाता परिचयपत्रसहित हेडकाउन्ट हुन्छ, त्यही दिन विवादको छिनोफानो हुन्छ,’ आयोग उच्च स्रोतले भन्यो ।
१२ असार २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत भई जसपा बनेको थियो ।
प्रतिक्रिया