हिमाल र हुमीले जिते गुरिल्ला म्याराथनको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूकुम : पूर्वको भूमे गाउँपालिकामा आयोजित तेस्रो गुरिल्ला म्याराथनको उपाधि हिमाल बुढामगर र हुमी बुढामगरले जितेका छन्। भूमे युवा विकास केन्द्रले आयोजना गरेको तेस्रो गुरिल्ला अल्ट्रा म्याराथनमा स्थानीयले वर्चश्व कायम गरेका छन्।

पुरूषतर्फ भूमे गाउँपालिका २, का हिमाल बुढा मगरले उपाधि जित्दा भूमे गाउँपालिका ६ कै करमान बुढा मगर दोस्रो भए। पुरुषतर्फ पहिलो र दोस्रो भएकाहरु ।

मंगलबार भएको ५२ किलोमिटर म्याराथन हिमालले ५ घण्टा ५३ मिनेट २६ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै उपाधि जितेका थिए। यस्तै दोस्रो भएका करमानले निर्धारित दुरी ६ घण्टा १९ मिनेट ३९ सेकेण्डमा पार गरे। ६ घण्टा २२ मिनेट ४३ सेकेण्डमा दुरी पार गरेका रूकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का अर्जुन बस्नेत तेस्रो भए। यस्तै सानीभेरी गाउँपालिका ३ कै भुवन ओलीले चौथो हुँदै सान्तवना पुरस्कार हात पारे। म्याराथनमा १ सय ७ जनाले सहभागिता जनाएका थिए।

यस्तै महिलातर्फको उपाधि प्युठानकी हुमी बुढा मगरले जितिन्। हुमीले निर्धारित दुरी ८ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पुरा गरिन्।  यस्तै ८ घण्टा ३७ मिनेट सेकेण्डमा ५२ किलोमिटर दुरी पार गरेकी भूमे गाउँपालिका–४, की रूजिना बुढा मगर दोस्रो हुँदा  भूमे ३ दोमैकी निर्मला पुन तेस्रो भइन्। निर्मलाले ८ घण्टा ४० मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पार गरिन्। भूमे गाउँपालिका ६, कि शान्ति रोका मगर चौथो हुँदै सान्त्वना पुरस्कार जितिन्।  महिलातर्फ २१ जनाले सहभागिता जनाएका थिए।

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा भूमे युवा विकास केन्द्रले प्रतियोगिता गरेको हो। भूमे गाउँपालिका–६, को महतबाट महतमै आउने गरी म्याराथन गराइएको थियो।

महिला पुरूष दुवै तर्फका विजेताले समान ७५ हजार नगर र ट्रफी, दोस्रोले ५० हजार नगर र ट्रफी तथा तेस्रोले नगद ३० हजार र ट्रफी पाए। यस्तै सान्त्वना हुनेले १५ हजार नगद र ट्रफी पाए।

आयोजकले महिला र पुरूष दुबैतर्फ दशौं स्थानसम्म आएकालाई प्रमाणपत्र तथा मेडलबाट सम्मान गरेको थियो।

पूर्वमन्त्री गणेशमान पुनका साथै लुम्बिनी प्रदेश सभासद तेज बहादुर वली, भूमे गाउँपालिका अध्यक्ष्य रामसुर बुढा, उपाध्यक्ष्य मनकुमारी बुढा विष्ट, थबाङ गाउँपालिका अध्यक्ष्य विरवहादुर घर्तीका साथै अरू स्थानीय नेताहरूले प्रतियोगिताका विजेता तथा सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

यही क्रममा उनीहरुबाट महतमा निर्माणाधिन रंगशाला, युद्व फिचर र जनसेनाका मुर्तिको अवलोकनसमेत गरेका थिए।

पूर्वमन्त्री गणेशमान पुनले दस वर्षे युद्धकालमा माओवादी सेनाले हिँडेका यी महत्वपूर्ण ऐतिहासिक पदमार्ग तथा स्थलहरुमा दौड प्रतियोगिता हुनु लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन भएको संघर्ष र त्यागलाई संस्मरण र सम्मान भएको बताए। त्यसका साथै भविष्यमा अन्तर्राष्ट्रिय खेलाडीलाई पनि यो प्रतियोगितामा आकर्षित गर्नसके आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनबाट स्थानीयले आर्थिक लाभ लिनसक्ने सम्भावना रहेको बताए।

भूमे गाउँपालिकाद्धारा २०७६ मा युवाको सर्वाङ्गिन विकासको लागि स्थापना गरिएको भूमे युवा विकास केन्द्रले दुई वर्षयता गुरिल्ला अल्ट्रा ट्रेल रेस आयोजना गर्दै आएको हो। केन्द्रले विविध खेलकुदका साथै युवाको क्षमता विकास, उद्यमशिलता र समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा निर्णायक तथा अर्थपूर्ण सहभागिता बढाउने कार्यक्रमहरु गर्ने गरेको छ।

खेल क्षेत्रको विकास र पर्यटन प्रवर्धनका लागि म्याराथन आयोजना गरिएको युवा विकास केन्द्रका अध्यक्ष सुनिल रोका मगरले जानकारी दिए।

प्रकाश थापा मगर