पछिल्लो समय कोभिड-१९ को संक्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा २० गते सकिँदैछ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले संक्रमणको कोभिडको चेन ब्रेक रोक्न निषेधाज्ञा लगाएको छ ।
जनजीवन कष्टकर बन्द गएकाले २० गते पछाडि निषेधाज्ञा खुकुलो पार्दै लगिने काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
‘खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिन्छ,’ पराजुलीले भने । होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ ।
पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुई दिन बाँकी छ । संक्रमणको अवस्था कस्तो रहन्छ त्यस अनुसार थप निर्णय लिने पराजुलीले बताए । निषेधाज्ञाको विषयमा स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरिने उनको भनाइ छ ।
जनस्वास्थ्यको मापदण्डमा पूर्ण रुपमा कडाइ गरिने उनले बताए । निजी ‘सवारीसाधनलाई सञ्चालनमा कडाइ गरिन्छ र पास बिनाका कुनै पनि सवारीसाधनलाई बाहिर निस्कन दिने छैनौँ,’ उनले थपे ।संक्रमण फैलन नदिन नागरिक आफैँ सचेत हुनुपर्ने उनी बताउँछन् । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको केही हदसम्म पालना भएको उनले बताए ।
कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो । संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनःनिषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुन थप गरी जेठ १३ गतेबाट २० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको हो ।
प्रतिक्रिया