अघिल्ला वर्षसम्म सिमित गतिविधिमा रहेको नेपाल स्काउटले कोभिड महामारी सुरु भएपछिका दिनमा भने आफ्नो औचित्य र महत्त्व पुष्टि गर्दै जान थालेको छ । पहिलो लहरमा कोरोना व्यापक भएपछि नेपाल स्काउटले आफ्नै पहल र अन्य विभिन्न संस्थाहरुसँगको सहकार्यमा कोरोना विरुद्ध अभियान शुरु गरेको थियो ।
गतवर्ष कोरोना महामारी शुरु भएपश्चात नेपाल स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन SMS Campaign देशव्यापीरुपमा सञ्चालन गरेको थियो । यस कार्यक्रम अन्तर्गत नेपाल स्काउटका स्वयंसेवकहरु गाउँ शहरका मुख्य चोक र बस्तीहरुमा गई प्रत्यक्ष संवाद गरी जनचेतना फैलाउने कार्य गरेका थिए । सो कार्यक्रममा देशभर ४०० जना स्काउट प्रत्येक दिन परिचालित भएका थिए । नेपाल स्काउटले कोरोना महामारीको प्रभाव कम हुँदै भएको अवस्थामा पनि उतिकै सक्रियरुपमा नियमित कार्यक्रम सञ्चालन गरिरहेको थियो ।
हाल यो कार्यक्रम सञ्चालनमा प्रभावकारिता ल्याउन कार्यक्रमको मोडालिटीमा केही परिमार्जन गरी SMS Reinforcement Campaign को रुपमा देशभर सञ्चालित छ । अहिलेपनि ४०० जना स्काउट स्वयंसेवकहरु प्रत्येक दिन कोरोना संक्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेका छन् ।
खोप केन्द्रमा स्काउट सेवा
नेपाल स्काउटले हाल सञ्चालनमा रहेका खोप केन्द्रहरुमा स्थानीय तहको सहकार्यमा खोप लगाउन आउने सर्वसाधारणको लागि सहजीकरण गर्ने कार्य गरिरहेको छ । नेपाल सरकारले देशवासीहरुलाई विभिन्न प्राथमिकता क्रममा राखी खोप लगाउने निर्णय गरेसँगै नेपाल स्काउट सहजीकरणका लागि अगाडि आएको हो । उपत्यकाका विभिन्न स्थानका २१ वटा खोप केन्द्रहरुमा १२५ जना स्काउट स्वयंसेवीहरु परिचालित भई कार्य गरिरहेका छन् । हाललाई जेठ १४ गतेसम्म चल्ने खोप अभियानमा स्काउटहरु परिचालन हुनेछन् ।
अनलाइन स्वास्थ्य परामर्श
कोरोना महामारीले व्यापक प्रभाव पारेका कारणले सामान्य तथा अन्य गम्भीर रोग लागेका बिरामीहरुलाई असुविधा भएको अवस्थामा नेपाल स्काउटले अनलाईन तथा फोनको माध्यमबाट स्वास्थ्य परामर्श सेवा शुरु गरेको छ । नेपाल स्काउट राष्टिय प्रधान कार्यालयसँगको समन्वयमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुलाई बिरामीहरुले सोझै सम्पर्क गरी परामर्श लिनेदिने व्यवस्था स्काउटले गरेको हो । प्रदेश १ बाट शुरु गरिएको सो कार्यक्रम बाग्मति प्रदेश र लुम्बिनी प्रदेशमा पनि सञ्चालनमा आइसकेको छ भने क्रमशः सातै प्रदेशमा यो कार्यक्रम सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ । यस कार्यक्रम मार्फत हालसम्म ५९ जना चिकित्सकहरुले करीव ५०० जना भन्दा बढि बिरामीहरुलाई परामर्श सेवा प्रदान गरिसकेका छन् ।
गैर कोभिड बिरामी एम्बुलेन्स सेवा सञ्चालन
कोरोना बाहेकका बिरामीहरुलाई पर्ने समस्यालाई मध्यनजर गरी उनीहरुलाई अस्पताल वा स्वास्थ्यकर्मीहरुसम्म पुग्ने व्यवस्था गर्न नेपाल स्काउटले Non-COVID Ambulance Service नामको सेवा आरम्भ गरिसकेको छ । नेपाल स्काउटका राष्टिय संयोजक श्री लोकबहादुर भण्डारीबाट शुभारम्भ भई सो सेवा हाल उपत्यका भित्र सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउटको एउटा गाडी र बाग्मति प्रदेश समिति सदस्य श्री अजित लामाले निजी सवारी साधन समेत नेपाल स्काउटको उक्त प्रयोजनका लागि प्रदान गरेपछि दुईवटा गाडी मार्पmत नेपाल स्काउटले यो सेवा सञ्चालन गर्दै आएको छ । यो सेवामा बाग्मति प्रदेश समिति सदस्य अजित लामा, बाग्मति प्रदेश समिति सदस्य समेत रहेका पर्वतारोही स्काउटर प्रकाशराज पाण्डे र ललितपुर महानगर समिति सदस्य बिकेन्द्र महर्जन परिचालित रहेका छन् । यसप्रकारको सेवा अन्य प्रदेश र देशका ठूला शहरहरुमा पनि सञ्चालन गर्न सवारी साधनको व्यवस्थापन गर्ने कार्य भइरहेको छ । हालसम्म यो सेवाबाट २० लाभान्वित भइसकेका छन् ।
स्वास्थ्यकर्मीलाई सट्ल सर्भिस
कोरोना महामारी व्यापक भएसँगै सार्वजनिक सवारीसाधन बन्द भएको र अस्पतालका सवारीसाधनहरु अपर्याप्त भएका कारणले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आवतजावत गर्न समस्या रहेको जानकारी आएपछि नेपाल स्काउटले आप्mनो सवारीसाधन स्वास्थ्यकर्मीहरुका लागि Shuttle Service को रुपमा सञ्चालनमा ल्याएको थियो । यस सेवाबाट चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु समयमै अस्पताल पुगी स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुगेको थियो । यस सेवा मार्फत २५० जना स्वास्थ्यकर्मीहरुलाई सेवा प्रदान गरिएको थियो ।
केन्द्र र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण
नेपाल स्काउटले देशभर विभिन्न स्थानमा कोरोना महामारीका कारण अप्ठेरोमा परेका सर्वसाधारणलाई खाना खुवाउने कार्य गरेको थियो । कोरोनाका कारण व्यवसायहरु बन्द भएपछि रोजगारी विहिन भएका, लकडाउका कारण घर जान नपाएका कयौं व्यक्तिहरुलाई देशका विभिन्न स्थानहरुमा स्काउटले निःशुल्क खाना वितरण गर्ने, खाद्यपदार्थ वितरण गर्ने कार्य गरेको थियो ।
साथै, कोरोना महामारीकै कारण मान्छेहरुको आवतजावत बन्द हुने र मठमन्दिर तथा रेष्टुरेन्ट होटल व्यवसाय आदि बन्द भएका कारण भोकै मर्न लागेका पशुपन्छीलाई आहार वितरण गरिएको थियो । स्काउट सबै पशुपन्छी तथा जनावरहरुप्रति दयालु हुन्छ भन्ने स्काउटको नियमको अनुसरण गर्दै धार्मिक स्थल र अन्य स्थानका जनावर तथा पशुपन्छीलाई खाना उपलब्ध गराइएको थियो । यस कार्यमा नेपाल स्काउटका निर्देशक श्री रामप्रसाद भट्राई लगायत सक्रिय स्काउटर तथा नेपाल स्काउटका कर्मचारीहरु खटिनुभएको थियो ।
विद्यालयहरुमा मास्क वितरण
नेपाल स्काउटले विभिन्न संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुमा मास्क वितरण गर्ने कार्य गरेको छ । कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि नाक मुख छोप्न मास्क नैं मुख्य प्रभावकारी माध्यम भएकाले बालबालिकाहरुमा यसको प्रकोप बढ्न नदिन विद्यालय तहमै मास्क वितरण गर्ने र मास्को उचित प्रयोग, हातको सरसफाई र सामाजिक दुरी कायम गर्ने सम्बन्धमा जनचेतना फैलाउने कार्य समेत गरिएको थियो ।
हात धुने स्थलहरु स्थापना र सञ्चालन
नेपाल स्काउटले देशका धेरै जनसंख्या भएका मुख्य शहरका मुख्यमुख्य स्थानहरुमा हात धुने स्थान तयार गरी सर्वसाधारणको प्रयोगमा ल्याएको थियो । कोरोना संक्रमण फैलनबाट रोक्न ७५ वटा स्थानहरुमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । यस कार्यमा नेपाल स्काउटका ६२५ जना स्काउट स्वयंसेवीहरु खटिएका थिए भने ४९४३४ जना नागरीक प्रत्यक्ष लाभान्वित भई कोरोनाको संक्रमण फैलनबाट रोक्न सकिएको छ ।
शव व्यवस्थापन
नेपाल स्काउटले कोरोना महामारीका कारण ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि हुँदै गएकोले शव व्यवस्थापनमा समेत कठिनाई भइरहेको हुँदा उक्त कार्यमा पनि सहयोगको निमित्त अघि सरेको छ । कोरोनाका कारण मृत्यु भएको पहिलो व्यक्तिको शव व्यवस्थापनमा नेपाल स्काउटका स्वयंसेवीहरु नैं अग्रसर भएका थिए । भक्तपुरका स्काउटरहरु श्री अरुण सैंजु, श्री राजेश गाइजु र श्री न्हुजा किजु लगायतको टोली हालसम्म पनि शव व्यवस्थापनको काममा लागिरहेको छ । हालै नेपाल स्काउट प्रदेश नं १ मा नेपाली सेनाबाट शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण लिई स्काउटका १५ जना स्वयंसेवीहरु शव व्यवस्थापनमा खटिएका छन् ।
हेल्प डेस्कको स्थापना
नेपाल स्काउटले राजधानी तथा देशका अन्य शहरहरुमा कोरोना सम्बन्धी जनचेतना र स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरेको छ । गण्डकी प्रदेशमा २० जना स्काउट स्वयंसेवीहरु प्रदेशका ११ वटै जिल्लाका अस्पतालहरुमा उपलब्ध कोभिड बेड, आइ सि यु बेड, भेन्टीलेटर बेड, अक्सीजन बेडको तथ्याङ्कहरु संकलन र अधावधिक गर्ने कार्य गरिरहेका छन् । साथै कोभिड विरामीहरुलाई आवश्यक औषधी र अक्सीजनको ब्यवस्थापनमा सहजीकरण गर्ने कार्य गरिरहेका छन् ।
प्रतिक्रिया