केही दिनदेखि भारी वर्षा र हिउँ परेका कारण सगरमाथा आरोहणको क्रममा रहेका करिब ५ पाँच सय जना पर्वतारोही तथा श्रमिकहरु दोश्रो क्याम्पमा अड्किएका छन् । नेपाल इन्डिपेन्डेन्ट टुरिजम वर्कर्स गिल्डका अध्यक्ष रामकाजी तिवारी(प्रयास)ले एक विज्ञप्तीमार्फत सो को जानकारी गराएका हुन् । उक्त टुरिजम वर्कर्स गिल्डका अनुसार हाल उनीहरु उद्धारको पर्खाइमा रहेका छन् । टुरिजम वर्कर्सले सगरमाथा हिमालको दोश्रो क्याम्पमा रहेका श्रमिक र पर्वतारोहिको जीवन सुरक्षा गर्न अति आवश्यक भएकोले बेलैमा सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा श्रमिक र पर्वतारोहीहरुको जीवन रक्षा सरकारको मुख्य जिम्मेवारी हो । यदि समयमै यसतर्फ ध्यान पुर्याउन नसकेर अकल्पनीय घटना घट्यो भने सोको जिम्मा स्वयं नेपाल सरकारले नै लिनु पर्ने छ ।’ साथै, उद्धार तुरुन्त हुनुपर्ने माग गर्दै विज्ञप्तीमा भनिएको छ, ‘उद्धारको निमित्त तुरुन्त आवश्यक पहलकदमी अगाडी बढाउन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग), नेपाल सरकार र सम्बन्धित निकायहरुसंग जोडदार माग गर्दछ ।’ पछिल्लो केही दिनदेखि देशैभर लगातार पानी परिरहेको छ । जसले गर्दा नेपालको हिमाली क्षेत्रमा भारी मात्रामा हिउँ परिरहेको छ । र, देशका धेरै ठाउँमा जनजीवन प्रभावित भएको छ ।
प्रतिक्रिया