प्रधानमन्त्रीद्वारा गैंडाको अविभावकत्व ग्रहण, जेष्ठ नागरिकका लागि थप चार विद्युतकार व्यवस्था गर्न निर्देशन
प्रधानमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षक केपी शर्मा ओलीले सदर चिडियाखानालाई हालको भन्दा फराकिलो र वन्यजन्तु मैत्री वातावरणयुक्त स्थानमा सार्न अत्यावश्यक रहेको बताउनुभएको छ।
जाउलाखेलस्थित सदर चिडियाखाना कोषको संरक्षणमा आएको २५ वर्ष पुरा भएको उपलक्ष्यमा बुधबार चिडियाखाना परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘यति सानो ठाउँमा उनीहरुलाई राख्नुे प्रताडना जत्तिक हुन्छ र उनीको प्राकृतिक चरित्र लोप हुन्छ’।
भक्तपुरको सूर्यविनायकमा बन्न लागेको प्राणी उद्यानको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ हरेक जनावरका लागि प्राकृतिक वातावरण सहितको अलग शाखा बनाउनुपर्ने धारणा समेत राख्नु भयो । सो उद्यानको उद्घाटन स्वयं प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा २०७३ साल वैशाखमा गर्नुभएको थियो ।
कार्यक्रमा प्रधानमन्त्री ओलीले संकटापन्न एवं नेपालको गौरव मानिएको एक सिंगे गैडाको अभिभावकत्व ग्रहण गर्दै कोषले आजैबाट सुरु गरेको एडेप्ट एन एनिमल (एउटा जनावरलाई मानवको अभिभावकत्व) कार्यक्रममा सुभारम्भ समेत गर्नु भएको थियो । व्यवस्थापनको रजत जयन्ती पुगेको अवसरमा आजैबाट सुरु भएको यो कार्यक्रमबाट मानव र वन्यजन्तु बीचको सुमधुर सम्बन्ध बढाउने लक्ष्य कोषको छ ।
एकसिंगे गैंडा नेपालको विशुद्ध रैथाने प्राणी भएको पनि प्रधानमन्त्रीले बताउनुभयो। ‘यो देशको माटोमा हाम्रो मोहियानी हक लाग्ला तर यो गैंडा तल्सिङ हो’, उहाँको भनाई थियो
सम्बोधनका क्रममा प्रधानमन्त्रीले चिडियाखानामा एक अलग कक्षको व्यवस्था गरी आगन्तुक र खासगरी विद्यार्थीलाई प्रकृति र वन्य जन्तुको महत्व, मानवसँगको सहकार्य आदिबारे विस्तृत ज्ञान दिइनुपर्ने समेत बताउनुभयो । वनलाई विभिन्न ढंगले संरक्षण गर्ने क्रममा केही वनक्षेत्र पूर्ण रुपमा प्राकृतिक हिसाबले नै चल्ने गरी संरक्षित गरिनुपर्ने समेत बताउनुभयो ।
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले सदर चिडियाखाना अवलोकन गर्न आउने जेष्ठ नागरिक, गर्भवति महिला वा कठिन शारीरिक अवस्था भएका व्यक्तिहरुलाई लक्षित गरी चार वटा थप विद्युत्तीय सवारी व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।
त्यसअघि प्रधानमन्त्रीले चिडियाखानाका जीव जन्तुहरुको अवलोकन गर्दै तिनको स्वभाव, चिडियाखानाले हाल गरिरहेको संरक्षण र आगामी योजनाबारे पनि जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया