
बाथलाई कसरी बुझने?
बाथलाई अंग्रेजीमा आर्थराइटिस भनिन्छ । सामान्य हिसाबले भन्दा यो एक किसिमको जोर्नीको रोग हो। तर यसले जोर्नीमात्र नभई जोर्नी वरिपरीको मांसपेशी र अन्य तन्तुहरु ( लिगामेंट,टेन्डन ) मा पनि असर गर्छ। यति मात्र नभएर बाथ रोगले शरीरका विभिन्न अंगहरु जस्तै आँखा, फोक्सो , छाला, मुटु, नशा ,मृगौलामा पनि असर पार्नसक्छ।
बाथ रोग कति प्रकारका हुन्छन?
बाथ रोग धेरै थरीका भएपनि नेपालीमा उचित नामाकरण नभएको कारण यिनीहरुलाई अंग्रेजी नामबाटै जान्नुपर्ने बाध्यता छ। समग्रमा भन्नुपर्दा नेपालमा प्रायः देखिने बाथ निम्न प्रकारका छन्।
१ र्यूमटोईड आर्थराइटिस ( आम बाथ अथवा गठिया बाथ )
२ गाउट ( युरिक एसिडजन्य बाथ )
३ स्पोन्डाइलो आर्थराइटिस ( ढाढको बाथ )
४ अस्टिओ आर्थराइटिस ( हड्डी खिइने बाथ)
५ लुपस
६ अन्य बाथ
बाथ रोगका लक्षणहरु के के हुन् ?
बाथरोगका लक्षणहरु त्यो रोगको किसिमनुसार फरक पर्छन। तर समग्रमा भन्नुपर्दा शरिरको कुनै पनि जोर्नीमा दिउँसोभन्दा बिहान र बेलुका बढी दुख्ने , जोर्नी चलाउदै जादा दुख्न कम हुदै जाने, बिहान उठ्नासाथ जोर्नी लामोसम्म अररो पर्ने जस्ता लक्षणहरु धेरै जसो बाथमा देखिन्छन।
त्यसैगरी जोर्नी सुनिने , रातो र तातो हुने, मन्द ज्वरो आउने, दुब्लाउदै जाने, धेरै थकाई लाग्ने,आखाँ रातो वा धमिलो हुने, शरीरमा डाबर आउने, मुखभित्र घाउ आइरहने, कपाल धेरै झर्ने, चिसो पानीमा हात राख्दा नीलो, सेतो वा रातो हुने जस्ता लक्षणहरु समेत केही प्रकारका बाथमा हुन सक्छन।
र्यूमटोईड आर्थराइटिस (गठिया बाथ वा आमबाथ ) कस्तो रोग हो?
र्यूमटोईड आर्थराइटिस एक दीर्घ बाथरोग हो।धेरैजसो महिलामा देखिने यो रोग नेपालमा पनि धेरै मानिसमा पाइएको छ। यो रोगमा शरीरका जोर्नीहरु दुखने र सुन्निने हुन्छ। कूल जनसंख्यको करिब एक प्रतिशतमा देखिने यो रोग नेपालमा करिब तीन लाख व्यक्तिलाई भएको अनुमान गर्न सकिन्छ।

यसका लक्षणहरु के के हुन्?
यो रोगको सुरुको अवस्थामा हातगोडाका जो र गोलीगाँठा) दुख्ने, सुन्निने र अररो हुन्छन। जोर्नी दुखाई र अररोपना बिहान र बेलु्का बढि हुन्छ जसको कारणले दैनिक क्रियाकलाप( चियाको गिँलास समाउन, टाँक लगाउन, धारा खोल्न, सिरक तान्न ) गर्न गाह्रो हुन्छ तर घाम लाग्दै गएपछि केहि मात्रामा कम हुन्छ। रोग कडा भएको खण्डमा मन्द ज्वरो आउने, हातगोडामा गिर्खाहरु देखा पर्ने ,आँखा रातो हुने, मुटु र फोक्सोमा समेत असर पर्न सक्छ । तर माथिका लक्षणहरु हुदैमा यो रोग लागेको भनेर यकिनका साथ भन्न सकिदैन । चिकित्सकलाई देखाएर मात्र यो रोग लागेको भन्न सकिन्छ ।
युरिक एसिड के हो? के युरिक एसिड बढ्दैमा बाथ भएको बुझिन्छ ?
युरिक एसिड शरीरको कोशीकाबाट निस्किने एक तत्व हो। यो हाम्रो मृगौलाबाट फिल्टर भई हाम्रो पिशाबबाट बाहिर निस्किन्छ। युरिक एसिडको मात्रा रगतमा ६ ’८ मिलिग्राम भन्दा बढी भएमा हामी एसलाई बढी भएको भन्छौ। तर युरिक एसिडको मात्रा बढ्दैमा बाथचाइ सबैलाई हुदैन।
युरिक एसिड सम्बन्धित बाथका लक्षणहरु के के हुन् ?
युरिक एसिड सम्बन्धित बाथ जसलाई हामी गाउट भन्छौ एसले प्रायजसो वयश्क पुरुष र महिनावारी सुकिसकेका महिलाहरुलाई असर गर्छ। धेरैजसो अवस्थामा खुट्टाको बुढी औंलाको जोर्नीमा असर गर्छ।
यसको दुखाइ अचानक सुरु हुन्छ र जोर्नी पनि तातो, रातो र सुन्निएको हुन्छ। यसको दुखाइ करीब एक हप्तासम्म रहन्छ र त्यसपछि पुरै निको हुन्छ। फेरी केही हप्ता वा महिनामा तेही जोर्नी अथवा अरु कुनै जोर्नीमा असर पार्न सक्छ। एसले खुट्टाका अरु जोर्नी , घुंडा , र पछि हातका जोर्नीहरुमा असर गर्न सक्छ। समयमै उपचार नभएमा हात खुट्टा र शरीरका अन्य भागमा गाँठा पलाउने र पछि यसले मृगौलामा समेत असर गर्न सक्छ।

स्पोन्डाइलो आर्थइटिस अथवा ढाढको बाथ के हो र यसका लक्षणहरु के के हुन्?
प्रायजसो ४० बर्षमुनिका पुरुषहरुमा यो बाथ देखिन्छ। बेलुकीपख र बिहान सबेरै तल्लो ढाढ दुख्ने र बिहानीपख अररो हुने , खुट्टा अथवा हातका औंला पुरै सुन्निने,कुर्कुचा दुख्ने, गर्दन दुख्ने, घुंडा दुख्ने र सुन्निने, बेला बेला आँखा रातो भई धमिलो देखिने यो बाथका लक्षणहरु हुन। यो बाथ कहिलेकाही सोरियासिस भन्ने छालाको रोगसंग पाइन्छ भने कहिले दिशा लागिरहने आन्द्रा सम्बन्धि रोगसंग जोडिएको पाइन्छ। समयमा उपचार नभएमा ढाढ र घाँटी पुरै जोडिएर हलचल गर्न पनि नसकिने हुनसक्छ त्यस्तै आँखाको ज्योति पनि गुम्न सक्छ।

अस्टिओ आर्थराइटिस अथवा हड्डी खिइने बाथ के हो र यसका लक्षणहरु के के हुन्?
नेपालीमा यसलाई बाथ भनिएपनि यो अरु बाथरोगभन्दा फरक छ। यो रोग जोर्नीबीच रहने कुरकुरे हड्डी खियिएर हुने समस्या हो। यो रोग धेरैजसो बृद्द अवस्थामा हुन्छ। घुँडामा असर छ भने बसेर उठ्दा ,उकालो–ओरालो गर्दा, हिद्द्दा दुखाई हुन्छ, गर्दनको जोर्नी खियिएमा गर्दन दुख्न्ने र पछि नशा च्यापिएर हात झमझम हुने समस्या हुन्छ त्यस्तै ढाढको जोर्नी खियिएमा ढाढ दुख्ने र नशा च्यापिएमा माथिजस्तै खुट्टा झमझम हुनसक्छ। हातका जोर्नीहरू खियिएमा हातका जोर्नीहरू दुख्ने र गाँठा आउने हुनसक्छ।
लुपस कस्तो बाथ हो र यसका लक्षणहरु के के हुन्?
विशेषगरी जवान महिलाहरुमा देखिने हुने यो रोगले शरीरका जुनै पनि अंगलाई असर गर्न सक्छ। घाममा हिड्दा मुख रातो हुने, मुखभित्र घाउ आइरहने, शरीरमा दानाहरु आउने, जोर्नी दुख्ने, कपाल धेरै झर्ने, मन्द ज्वोरो आउने, थकाइ लाग्ने यसका प्रमुख लक्षन्हरु हुन। यतिमात्र नभएर यसले शरीरका अभिन्न अंगहरु जस्तै मृगौला, मस्तिष्क, मुटु , फोक्सो आदिलाई पनि असर गरी ज्यानको जोखिम पनि हुन सक्छ। यो रोगका प्राय सबै बिरामीको रगतमा ए एन ए (ANA) भन्ने जांच पोजिटिभ हुन्छ।
लुपस बिरामीको अनुहारमा देखिने रातो दाना
खानपान र बाथरोगको के सम्बन्ध छ?
हाम्रो समाजमा यदि कसैलाई बाथरोग छ भने त्यो मानिसका आफन्त अथवा छिमेकीले विभिन्न कुराहरु जस्तै गेडागुडी, गोलभेंडा,अमिलो आदि खान मिल्दैन भनेर सल्लाह दिएको पाईन्छ जसका कारण बाथरोगका बिरामीहरुले धेरै नै मुख बारेको पाइन्छ। तर अहिले सम्मको वैज्ञानिक अनुन्धानबाट प्रायजसो बाथरोग र खानपानको कुनै सम्बन्ध नरहेको बताएको छ। तर युरिक एसिड सम्बन्धित बाथमा भने खानपानमा ध्यान पुरयाउन जरुरी छ। यो रोगका बिरामीले रातो मासु, रक्सी र रक्सीजन्य पदार्थ,जनावरको भित्र्यांस, समुन्द्री खाना, गुलियो फलफूलका जुसबाट टाढा रहनु उचित हुन्छ।
के बाथरोग निको हुन्छ?
चिनीरोग, उच्च रक्तचाप जस्तै बाथरोग पनि दीर्घरोगमा गनिन्छ। धेरैजसो बाथरोग लागिसकेपछि निको हुंदैन तर यसलाई औषधिको माध्यमबाट नियन्त्रणमा राख्न सकिन्छ भने कतिपय बाथरोग आँफै हराएर पनि जान्छन र कतिपय अवस्थामा औषधि पुरै बन्द गर्न पनि सकिन्छ तर यो निर्णय तपाईको बाथरोगको चिकित्सकको हातमा हुन्छ।
प्रतिक्रिया