उदय होस् कि अस्त, सूर्य रातै हुन्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंः प्रधानमन्त्री केपि शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताउनुभएको छ ।

दक्षिण एसियामै पहिलो पटक नेपालले सुरु गरेको माटोको डिजिटल म्यापिङ प्रणाली आज राजधानीमा सार्वजनिक गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनु भो र ? प्रधानमन्त्रीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको पनि उहाँले बताउनु भयो । “उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता”, सँस्कृतश्लोक उधृत गर्दै प्रधानमन्त्रीले भन्नुभयो । आफु जस्तो सुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने भनाई उहाको थियो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । “माटोमा कुन पोषक तत्व छ कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ”, उहाँले थप्नुभयो । किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।
जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनु पर्ने भनाई उहाँको थियो ।
देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय उत्पादन २१ प्रतिशत मात्र रहेको बताउँदै उहाँले यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धिमा जानुपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । “ठूलो मात्रामा उत्पादन गरेमा हामीले निर्यात गर्न बजार पाउँछौं । तर त्यसका लागि गुणस्तर, सहज मुल्य र समयमै आपूर्ति गर्नसक्ने क्षमता आवश्यक छ । ”, उहाँको भनाई थियो ।
कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवाहरुलाई आकर्षित गरिनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताउनुभयो ।
माटोको विद्युतीय नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्नेछन् ।
देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् ।
नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ । माटोमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ ?कुन ठाउँमा कस्तो किसिमको मल आपूर्ति गर्ने, माटोको सुधारका लागि अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा तथा सुक्ष्म खाद्यतत्वहरुको सन्तुलन कसरी गर्ने ? जस्ता निर्णय लिन सहज हुनेछ ।