युरोपियन क्लबहरुको महाकुम्भ च्याम्पियन्स लिग फुटबल दुई महिना पछि फर्किएको छ । आज च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सामना गर्दैछ ।
नेपाली समय अनुुसार आज राति १ः४५ बजे बार्सिलोनाले घरेलु मैदानमा पीएसजीलाई स्वागत गर्न लागेको हो ।
घरेलु मैदानमा बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ भने पीएसजी सन् २०१६–१७ को च्याम्पियन्स लिगको अन्तिम १६ मा हारेको बदला लिने लक्ष्यका साथ मैदान उत्रने छ । तर दुबै टिमलाई जित निकाल्न भने त्यति सजिले हुने छैन ।
पीएसजीका स्टार खेलाडी ब्रजिलियन स्टार नेइमार भने यो महत्वपूर्ण खेलमा खेल्ने छैनन् । उनी चोटका कारण टिममा उपलब्ध नभएका हुन् । त्यस्तै अर्का स्टार खेलाडी एन्जलो डी मारिया पनि टिममा परेका छैनन् । तर, अर्का आक्रमक खेलाडी किलियन एम्बाप्पेको सहभागीताले भने पीएसजीमा केही राहत मिल्ने नै छ ।
यसअघि यी दुई टिमबीच सन् २०१६–१७ मा प्रतिष्पर्धा भएको थियो । उक्त खेल पनि च्याम्पियन लिगको अन्तिम १६ नै थियो । सो खेलमा पीएसजीले पहिलो लेगमा बार्सिलोना माथि ४–० को फराकिलो जित निकालेको थियो भने दोस्रो लेगमा बार्सिलोनाले ६–१ को शानदार जित निकाल्दै अन्तिम आठमा पुगेको थियो ।
प्रतिक्रिया