काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युुनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताको असहयोगका कारण गर्न सकिने कामसमेत गर्न नपाइएको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघद्वारा सोमबार राजधानीमा आयोजित राष्ट्रिय उद्योग ब्यवसायी भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीका केही शीर्ष नेताहरुको ध्यान अनुचित ढंगले पार्टी अध्यक्ष वा प्रधानमन्त्री हुने भन्दा बाहेक देश, जनता र विकास निर्माणमा कहिल्यै नगएको बताउनुभयो ।
‘पार्टीका शीर्ष नेताहरुमा कुनै ठाउँमा खुट्टा टेक्दा केपि ओलीलाई फाइदा हुन्छ भने त्यहाँ नटेकेर अन्तै टेक्छु’ हाउभाउ सहित बैठकमा बोलेका एक पार्टी नेतालाई उधृत गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।
सभाहरुमा समेत १६ जना मान्छे लाइन लागेर सबैले एउटै ‘केपि ओली’ केपि ओली’ केपि ओली’ मात्र भन्ने गरेको तर देश र दुःख पाएका जनता नसम्झिएको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘कसरी निदाउनु हुन्छ होला उहाँहरु ! यस्सो झकाउन थाल्यो, “केपि ओली” । यस्सो झकाउन थाल्यो, ‘केपि ओली’, प्रधानमन्त्रीको भनाई थियो ।
उत्पादन बढाउने र रोजगारी सृजना गर्ने काममा बढी ध्यान दिन उद्योग व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ ।
‘सकेसम्म हाम्रा जमिन, जंगल, जडिबुटी आदिको कसरी अघिकतम् सदुपयोग गर्न सकिन्छ । त्यतापट्टी लाग्नुस् । सरकारले पूर्ण सहयोग गर्छ । यो सरकार हुतिहारा खालको सरकार होइन । दृढता भएको केही गरौं भन्ने सरकार हो’, उहाँको भनाई थियो ।
प्रधानमन्त्रीले कोभिड—१९का कारण प्रतिकुल असर परेका बेला कुनै कुनै क्षेत्रले अधिक लाभ लिने र कुनै अत्यधिक खस्किने कुरा हुन नसक्ने समेत बताउनुभयो । बैंक र वित्तीय संस्था फस्टाउन भन्ने पक्षमा आफू रहेको तर सँगै त्यसबाट ऋण लिएर काम गर्ने व्यवसायीहरु पनि त्यसको सावाँ व्याज तिर्न सक्ने अवस्था हुनुपर्ने उहाँको भनाई थियो ।
कोभिड १९ले पारेको प्रतिकुल अवस्थाका बावजुद नेपालको आर्थिक अवस्था नखस्किएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको प्रगति कायम राख्न सकिए सन् २०२२ सम्ममा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने अवस्था रहेको समेत उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले सरकारले गरेका काम लिएर जनतासम्म जान पनि उद्योगी र व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया