“नैतिक मुल्यका लागि प्रज्ञा प्रकाश”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको शुभकामना दिनुभएको छ । विद्याकी देवी सरस्वतीको आराधन.गर्नाले सद्बुद्धि आउने मान्यता पाईन्छ ।
वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा गरी मनाईंदै आएको यस पर्वका अवसरमा काव्यविनोदीः स्रष्टा, सर्जक, साहित्य, संगीत, कला साधक तथा ज्ञानका अध्येताहरुमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको शुभकामना जस्ताको त्यस्तै-
वसन्त पञ्चमी(श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा गरी मनाईंदै आएको यस पर्वका अवसरमा काव्यविनोदीः स्रष्टा, सर्जक, साहित्य, संगीत, कला साधक तथा ज्ञानका अध्येताहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस दिनलाई स–साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाईंदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । जसअनुसार एक वर्षलाई ६ वटा ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । वसन्त ऋतुलाई श्रृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रंगीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय प्रचलन छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यता अनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ । त्यसैले उनको बीणाबाट ब्रह्माण्डमा स्वर, संगीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ । सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन् । यसरी असल वा खरावको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।
यतिबेला हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छौँ । राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ । हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सदाचारतिर अघि बढाईरहेका छौँ । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ । जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ । त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ । ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तिका रुपमा मनाइने वसन्तपञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरुमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस्, वसन्त पञ्चमीको हार्दिक शुभकामना ।

४ फागुन २०७७ केपी शर्मा ओली