आफ्नो मानमर्दन तथा बेइज्जत गरेको भन्दै सपना रोक्का मगरले विनयजंग बस्नेतविरुद्ध मानहानीको जाहेरी दिएकी छिन् ।
विनयले सपनाको बारेमा अश्लील सामग्री सार्वजनिक गर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिएकोले जाहेरी दिएको काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले बताउनुभयो । सँगै बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सार्वजनिक भएको थियो ।
उनीहरुले सँगै काम गरुन्जेल एकअर्कालाई बाबु छोरीको रुपमा रहेको बताउने गरेका थिए । तर बीबीसीले सपनालाई संसारकै १०० प्रभावशाली महिलाको सूचीमा चयन गरेको केहि समयपछि उनीहरु बीचको विवाद बाहिरिएको थियो ।
उनीहरुले अहिले छुट्टाछुट्टै समूहमा काम गर्न थालेका छन् । उजुरी परेसँगै प्रहरीले विनयलाई पक्राउ गर्ने तयारीका साथ उनको खोजी सुरु गरेको छ । सपनालाई केही महिना अघि शव व्यवस्थापनमा लागेको भन्दै बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो ।
प्रतिक्रिया