काठमाडौं। तामाङ र शेर्पा जातिले मनाउने मुख्यचाड लोसार शुक्रबार (आज) भव्य रुपमा मनाइँदै छ। नेपालको खासगरी हिमाली क्षेत्रका मानिसहरुका लागि लोसार निकै ठुलो पर्व मानिन्छ। तिब्बति भाषामा “लो” को अर्थ वर्ष र “सार” को अर्थ नयाँ हो । त्यसैले लोसार भन्ने वित्तिकै नयाँ वर्षको चाड भन्ने बुझिन्छ ।
विगतका वर्षहरुमा यो पर्व शेर्पा र तामाङ समुदायले छुट्टा छुट्टै मनाउने भएता पनि यस वर्ष तिथि एकैदिन जुरेको हुँदा सङ्गै मनाउन लागिएको हो ।
शेर्पा समुदायले ग्याल्बो लोसर फाल्गुनशुक्ल प्रतिपदामा मनाउने गरेका छन्। यो समुदायले आजदेखि नयाँ वर्ष च्याक् मो लाङ लो २१४८ सुरु भएको अवसरमा ग्याल्बो लोसर मनाउन लागेका हुन्।
यस्तै तामाङ जातिहरुले मञ्जुश्रीको पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु भएको मान्ने गर्छन् । तामाङ समुदायमा आजदेखि मुसा वर्ष पूरा भई गाई वर्ष प्रवेश हुन्छ । यो समुदायले प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम लोसार पर्व मनाउँदै आइरहेका छन् ।
यो समुदायमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम लोसारलाई विभाजन गरिएको पाइन्छ ।
यो चाड धार्मिक प्रकृतिको भएको हुँदा एकै ठाउँमा परिवारजनहरु भेला भएर मनाउने गर्दछन् । आफ्नो जातीय भेषभुषामा सजिएर, परिकारको स्वाद लिदै आफ्नो पारम्परिक नाचगानमा रम्ने गर्छन् अझ भनौं यो अनिवार्य जस्तै हुन्छ । त्यसैले मध्यपान र मांशको प्रयोग पनि प्रशस्तै गरिन्छ। नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरि रमाइलो गर्दै यो चाड मनाउने गरिन्छ।
यस वर्ष पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । साथै सरकारका उच्च पदमा आसीन पदीय व्यक्ति र विभिन्न राजनीतिका दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया