कलंकी कोटेश्वर सडक खण्ड (चक्रपथ) मा थप तीनवटा आकाशे पुल निर्माणको काम सुरु गरिएको छ ।
उक्त सडक खण्डमा पर्ने बल्खु, सानेपा र महालक्ष्मीस्थानमा पुल निर्माण गर्न लागेको हो । तीन मध्ये बल्खु र सानेपाको पुल निर्माणको कार्य पहिले नै भएको र डिजाइनमा समस्या देखिएपछि लगभग १ वर्ष काम रोकिएको चक्रपथ सुधार आयोजनाका प्रमुख अर्जुन सुवालले घामछायाँलाई बताउनुभयो । “पहिलेको डिजाइनमा २ वटा सपोर्ट छुटेकोले काम रोकिएको र अहिले फेरि सुचारु गर्न लागेका हौं” सुवालले भन्नुभयो । महालक्ष्मीस्थानको पुल निर्माण नयाँ बन्न लागेको हो । अहिले बल्खु र सानेपमा डन्डी सफा गर्ने काम भईरहेको छ । त्यस्तै महालक्ष्मीस्थानमा भने ‘ले आउट’को काम भईरहेको छ ।
महर्जन, पुन चण्डी र सप्त पथ तीन कन्ट्रक्सनको सहकार्यमा आकाशे पुल निर्माण हुन लागेका हो । पुल निर्माणको क्रममा लाग्ने सम्पूर्ण लागत खर्च नेपाल सरकारको हुने सडक विभागकी ईन्जिनीयर सुजना कंडेलले जानकारी दिनुभयो । सानेपामा बन्ने पुलको लागत खर्च तीन करोड ६८ लाख लाग्ने छ । त्यस्तै महालक्ष्मीस्थानमा निर्माण हुने पुलको खर्च तीन करोड ८० लाख लाग्ने र बल्खुको पुललाई तीन करोड ५७ लाख लाग्ने ईन्जिनीयर कंडेलले बताउनुभयो । साथै, तीनवटै पुलको डिजाइन एउटै भएता पनि स्थान विशेषका माटोको कारण, साइडको कारण र सडकको लम्बाईको कारण खर्चमा केही अन्तर रहेको पनि उहाँले जानकारी दिनुभयो ।
यसअघि नै यही सडक खण्डमा पर्ने कोटेश्वर, ग्वार्काे र बागडोलमा चीन सरकारको सहयोगमा सम्झौता अनुसारको आकाशे पुल निर्माण भईसकेको छ ।
प्रतिक्रिया